सहिद स्मारक ए डिभिजन लिगमा म्याग्दीका निराजनको डेब्यु

  • ६ मंसिर २०७८, सोमबार
  • 1123 पटक पढिएको

म्याग्दी ६ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका १७ बर्षिय फुटवल खेलाडी निराजन खत्रीले ए डिभिजन लिगमा डेब्यु गरेका छन् । काठमाण्डौमा जारी सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबबाट खत्रीले सहभागीता जनाएका हुन् । दशरथ रंगशालामा मनाङ मर्स्याङ्दीसंगको खेलमा जावलाखेलको टोलीमा खत्रीले मिडफिल्डरको रुपमा खेलेका छन् । अनुभवि खेलाडीहरुको साथमा मैदानमा उत्रदा उत्साह थपिएको खत्रीको भनाई छ ।

‘‘पहिलो खेलमा प्रतिस्पर्धा भएपनि जित हात पार्न कठिन भयो, अर्को टोलीसंगको खेलमा जित निकाल्ने प्रयत्मा जुट्छौँ’’–उनले भने । नेपालको चर्चित फुटवल क्लब जावलाखेल युथ क्लबमा गत साउनदेखि खत्री अनुबन्धित भएका हुन् । सानै उमेरदेखि फुटवल खेलमा पहिचान स्थापित गरेका खत्री दुई बर्षका लागि ए डिभिजनको क्लब जावलाखेल क्लबमा आबद्ध भएका हुन् ।

एन्फा एकेडेमि बुटवलमा रहेर विगत ४ बर्षदेखि विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगीताहरुमा मिड फिल्डरको रुपमा सहभागी भएर उत्कृष्ट खेल कौसल देखाउँदै आएका छन् । खत्रीले जापानमा भएको यू–१२ च्याम्पियनसिप, भारतमा भएको यू–१५ साफ च्याम्पियनसिप, जोर्डनमा भएको यू–१६ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टीमबाट भाग लिइसकेका छन् ।

भारतमा भएकोे यू–१५ साफ च्याम्पियनसिपको प्रतियोगिता अवधिमा २ गोल गर्न सफल भएका खत्रीले जापानमा भएको यू–१२ च्याम्पियनसिपमा प्रतियोगिता अवधिभर १० गोल गर्दै नेपाली टोलीबाट सर्वाधिक गोलकर्ता बनेका थिए । सानैदेखि फुटवलमा रुचि राख्ने खत्री मोफसलबाट राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म आफ्नो खेल प्रतिभा पदर्शन गर्न सफल भएका छन् ।

तस्बीर : हाम्रोखेलकुद डटकमबाट