होटल यतिको आयोजनामा तिहार विशेष कार्यक्रम हुने

  • ९ कार्तिक २०७८, मंगलवार
  • 1260 पटक पढिएको

म्याग्दी, ९ कात्तिक । बेनीबजारको क्याम्पसचोकस्थित सञ्चालनमा रहेको होटल यतिले तिहार विशेष लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । होटल यति ३९औं वर्षमा प्रवेश गरेको सुखद अवसर तथा होटलका संस्थापक स्वर्गीय राम गौचनको स्मृतिमा लोक सङ्गीतसहित तिहार विशेष कार्यक्रम गरिने यति होटलले जनाएको छ ।

नजिकिँदै गरेको नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर कात्तिक १६ गते लोक संस्कृतिक कार्यक्रम गरिने होटल यतिका प्रोप्राइटर बिमला गौचनले जानकारी दिईन ।लोक संस्कृतिको संरक्षणसहित आयोजना गरिएको कार्यक्रममा खुल्ला एकल नृत्य प्रतियोगिता, विश्वका एक सयजना प्रभावशाली महिलाको सुचीमा पर्न सफल म्याग्दीको बराङ्जाकी सपना रोकामगर तथा लोकगायिका धनकुमारी थापालाई सम्मान गरिने यति होटलका प्रोप्राइट बिमला गौचनले बताईन । नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई नगद सातहजार, द्वितीयलाई पाँचहजार र तृतीयलाई तीनहजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । म्याग्दी जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पर्यटन व्यवसायी समेत रहनुभएकी प्रोप्राइटर गौचनले जानकारी दिईन ।

लामो समय कोरोनाले थलिएको होटल व्यवसायलाई चलायमान बनाउन र पर्यटन प्रवद्र्धनसहित प्रचारप्रसार गर्न कार्यक्रम आयोजना गरिएको होटल यतिले जानकारी दिएको छ । २०४० सालमा स्थापना भएको होटल यतिमा अहिले २५ वटा कोठा पर्यटक तथा पाहुनाका लागि रहेकोमा एक रातका लागि बास बस्नलाई कोठा र सभाहलमा गरी १ सयजना भन्दा बढीको क्षमता रहेको छ । शान्त वातावरण रहेको होटल यतिमा आरामदायी बसाइका साथै अर्गानिक थकाली खानाको स्वाद लिन पाईन्छ ।