अभाब र संघर्षको काप फोरेर गुन्जिएको आवाज ‘दोहोरी च्याम्पियनको उपाधी प्रतिस्पर्धामा

  • ९ कार्तिक २०७८, मंगलवार
  • कमल खत्री
  • 1423 पटक पढिएको

म्याग्दी ९ कात्तिक ।
‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल ।
सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल ।।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको कविताको यो अंश दोहोरी गायिका शोभा कार्कीको जीवनमा मेल खान्छ । बाल्यकालमा आमा गुमाएकी कार्कीले थाहा पाउने उमेर नहुँदैदेखि नै अभिभावकको अभाबलाई नजिकबाट झेल्नुपरेको थियो । साढे २ बर्षको उमेरमा आमा गुमाएकी कार्कीले बुबा रोजगारका लागि प्रवासीएपछि संघर्षपूर्ण बाल्यकाल बिताइन् ।


संघर्षका पहाड चढेर बाल्यकाल पार गरेकी कार्कीलाई अन्नतत् उनकै संघर्ष र मेहनत उनलाई राष्ट्रिय पहिचान स्थापित गराउने आधार बने । स्कुलमा हुने प्रतियोगिताहरुमा आफ्नो पिडा, अभाब र समस्याहरुलाई समेटेर गुनगुनाउने कार्कीले गाउँमा हुने मेलाहरुको दोहोरी प्रतियोगितामा आफुलाई निखार ल्याउने अवसर पाईन् ।


जन्मथलो रघुगंगा गाउँपालिका–२ भगवतीमा बिजया दशमीको अवसरमा लाग्ने ऐतिहाँसिक र परम्परागत दशैँ मेलामा काकीले १४ बर्षको उमेरमा दोहोरी गीत प्रतियोगितामा भाग लिएकी थिइन् । गायक समेत रहेका छिमेकी दाई फौदबहादुर कटुवालको सरसल्लाह र प्रेरणामा मेलापर्वमा आयोजना हुने दोहोरी प्रतियोगितामा भाग लिन थालेकी कार्कीले एसएलसी पास भएपछि सदरमुकाम बेनीमा आयोजना भएको ‘म्याग्दी महोत्सवमा’ समेत भाग लिएकी थिइन् ।
मानिसका जीवन संघर्ष, सुखदुख, मायाप्रेमका कथाबस्तुहरुमा मिठा र गहकिला शब्द चयन गरेर सुरिलो स्वरमा दोहोरी गाउन पोख्त भएकी कार्कीले जिल्लामा मात्रै नभएर पर्वत, बागलुङ संगै देशका विभिन्न क्षेत्रमा आयोजना हुने मेला महोत्सवहरुमा पुगेर दोहोरी प्रतियोगितामा थुप्रै पुरस्कारहरु हात पार्न सफल भयकि छिन् । विवाह पश्चात २०६९ सालमा काठमाण्डौ पुगेपछि कार्कीले दोहोरी, झ्याउरे र तीज गीत गरि विभिन्न एल्बमहरु समेत बजारमा ल्याइन् । २०७० मा पर्वतको कुस्मामा आयोजित धौलागिरी दोहोरी तारा प्रतियोगितामा बिजेता घोषित भएकी कार्कीले राष्ट्रिय स्तरका थुप्रै दोहोरी बिधाका अवार्डहरु समेत हात पार्न सफल भैसकेकि छिन् ।

यस बिचमा उनले थुप्रै राष्ट्रिय स्तरका दोहोरी प्रतियोगीताहरुमा भाग लिनेदेखि दोहोरी साझसम्म आफ्नो गायकि क्षमतालाई उपयोग गरिन् । युटुबहरुमा मात्रै उनका झण्डै ३५० बढी दोहोरी भिडियोहरु उपलब्ध छन् । घतलाग्दा र मनछुने शब्द र मिठास स्वरका कारण उनका दोहोरी गीतका भिडियोहरु युटुबमा खोजी गर्ने दोहोरीको पारखीहरुलहरु बढी छै छन् ।

कार्की यतिबेला दोहोरी गीतकै नामले फेरी राष्ट्रिय स्तरको चर्चामा छिन् । नेपाल टेलिभिजनको प्रस्तुती रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को ग्राण्ड फिनालेको फाइनलमा कार्कीको समूह पनि पुग्न सफल भएपछि यतिबेला उनी चर्चामा आएकी हुन् । म्याग्देली कार्की र बागलुङ घर भई नवलपरासी बस्ने बालचन्द्र बरालले प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसंग उपाधीको प्रतिस्पर्धा गरेका छन् । गत शनिवार फाइनल प्रस्तुती दिएका यो समूहलाई भोटका आधारमा दोहोरी च्याम्पिएन बिजेता र उपबिजेता घोषणा गरिने भएको छ ।

प्रथम हुने समूहले नगद रु २० लाख र १ करोड बराबरको जीवन बीमा र दोस्रो हुनेलाई नगद रु १० लाख र ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन् । दोहोरी च्याम्पियनको ग्राण्ड फिनाले आउँदो शनिबार पोखरामा हुँदै छ । गत शनिवार भएको उपाधी प्रतिस्पर्धात्मक प्रतियोगीतामा कार्कीको प्रस्तुतीलाई धेरैले मन पराएका छन् । उक्त प्रस्तुतीमा कार्कीको शब्दले निर्णायकदेखि अतिथि निर्णायक र सहभागीहरुको आँखा रसाएका थिए । कार्कीको समूहलाई भोट दिन मोवाइलको म्यासेज बक्समा गएर DC16 टाईप गरि 33001 मा सेन्ट गर्ने र  NTV APP डाउनलोड गरेर समेत भोटिङ गर्न सकिनेछ । इसेवा खल्तिबाट समेत भोटिङ गर्न सकिनेछ । भोटिङ समयसिमा आगामी कात्तिक १३ गते साँझ ६ बजेसम्मको समय दिइएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l