अस्पताल प्रशासनसंगको सहमतिपछि स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता

  • २० आश्विन २०७८, बुधबार
  • 950 पटक पढिएको

बेनी, २० असोज । बेनी अस्पतालमा कार्यरत कर्मचारीले साउन देखिको तलब नपाएपछि सुरु गरेको आन्दोलन फिर्ता भएको छ । अस्पताल ब्यवस्थापन समिति र अस्पताल प्रशासन वार्तामा तलव पाउने सहमती भएसंगै आन्दोलित बनेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले आन्दोलन फिर्ता गरेका हुन् ।

बुधवार विहान तलबको माग गर्दै स्वास्थ्यकर्मीहरुले सेवा बन्द गर्दै दिनभर धर्ना दिएका थिए । अस्पताल व्यवस्थापन समितिको पहलमा अस्पताल प्रशासन र आन्दोलनरत स्वास्थ्यकर्मीहरुका विच तलब भुक्तानीका सम्बन्धमा सहमति जुटेपछि उनीहरु सेवामा फर्किएको अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

समितिका अध्यक्ष कटुवालले लेखापालको समस्याका कारण तलव उपलब्ध गराउन नसकिएको बताए । उनले अस्पतालको छुट्टै लेखापालको ब्यबस्था नगरिदिएको र अन्य कार्यलयमा कार्यरत लेखापाल भएको कारण समयमै तलब भुक्तानीमा समस्या भएको उनले जानकारी गराए । यसैबिच अस्पतालमा दिनभर बहिरंग कक्ष, ल्याव, आँखा उपचार, लगायतका कक्षको सेवा ठप्प भएको थियो । अस्पताल अघि र अध्यक्षको कार्यकक्ष अगाडी स्वास्थ्यकर्मी, चिकित्सवक र कर्मचारीहरुले धर्ना दिएर बसेका छन् । हाल बेनी अस्पतालले ६४ शैया बराबरको सुविधा दिइरहेको छ ।

सुत्केरी व्यथा लागेर अस्पतालमा ल्याएको विरामीलाई समेत चेकजाँच नगरेपछि समस्यामा परेको मंगला गाउँपालिका-२ बाट बेनी अस्पतालमा आएकी भगवती किसानले बताईन् । ‘‘ सुत्केरी व्यथा लागेको छ, रगत परिक्षण र भिडियो एक्सेर गर्नुपर्छ भनेका छन, तर चेकजाँचको लागि कक्षमा कोही पनि छैनन्, विरामीलाई अप्ठेरो परे पोखरा पुर्‍याउन पर्ने हुँन्छ, यहाँ चेकजाँच नै भएको छैन’’- उनले भनीन् ।विहान ९ बजेदेखि नै अस्पतालमा ओपीडि सेवाको लागि विरामीहरु आएपनि दर्ता लगायतका कुनैपनि कक्ष नखुलेपछि निरास भएर फर्कन बाध्य भएका छन् । बेनी नगरपालिका-२ भकुण्डेबाट छिमेकी बृद्धको आँखाको उपचारका लागि ल्याएर आएर आएका गणेश सुवेदीले दिनभर अस्पतालमा कुर्दा समेत उपचार पाउन नसकेको गुनासो गरे ।