तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, सेवाग्राही समस्यामा

  • २० आश्विन २०७८, बुधबार
  • 1134 पटक पढिएको

म्याग्दी २० असोज । म्याग्दी सदरमुकाममा रहेको बेनी अस्पतालमा कार्यरत कर्मचारीले तलब नपाएपछि आन्दोलित बनेका छन् । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले बिगत तीन महिनायता तलब नपाएपछि बुधवार विहादेखि आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।


अस्पताल व्यवस्थापन समितिलाई दुई दिन अघि ४८ घण्ट अल्टिमेटम सहित ध्यानकर्षण पत्र बुझाएका उनीहरुले चाडपर्वको मुखमा समेत तलब प्रदान गर्ने तयारी नगरेपछि दबाबका लागि बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् । बहिरंग कक्ष, ल्याव, आँखा उपचार, लगायतका कक्षको सेवा ठप्प भएको छ । अस्पताल अघि र अध्यक्षको कार्यकक्ष अगाडी स्वास्थ्यकर्मी, चिकित्सवक र कर्मचारीहरुले धर्ना दिएर बसेका छन् । हाल बेनी अस्पतालले ६४ शैया बराबरको सुविधा दिइरहेको छ ।

सुत्केरी व्यथा लागेर अस्पतालमा ल्याएको विरामीलाई समेत चेकजाँच नगरेपछि समस्यामा परेको मंगला गाउँपालिका–२ बाट बेनी अस्पतालमा आएकी भगवती किसानले बताईन् । ‘‘ सुत्केरी व्यथा लागेको छ, रगत परिक्षण र भिडियो एक्सेर गर्नुपर्छ भनेका छन, तर चेकजाँचको लागि कक्षमा कोही पनि छैनन्, विरामीलाई अप्ठेरो परे पोखरा पु¥याउन पर्ने हुँन्छ, यहाँ चेकजाँच नै भएको छैन’’– उनले भनीन् ।


विहान ९ बजेदेखि नै अस्पतालमा ओपीडि सेवाको लागि विरामीहरु आएपनि दर्ता लगायतका कुनैपनि कक्ष नखुलेपछि निरास भएर फर्कन बाध्य भएका छन् । बेनी नगरपालिका–२ भकुण्डेबाट छिमेकी बृद्धको आँखाको उपचारका लागि ल्याएर आएर आएका गणेश सुवदेीले दिनभर अस्पतालमा कुर्दा समेत उपचार पाउन नसकेको गुनासो गरे ।


बेनी अस्पतालमा स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ जना चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । उनीहरु कसैले पनि गत साउन महिना यता तलब पाएका छैनन् । अस्पतालमा प्रसुति सेवा लिएका सुत्केरीहरुले पाउनुपर्ने आमा सुरक्षा कार्यक्रमको भत्ता समेत वितरण भएको छैन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अन्य दुईवटा कार्यालय समेत हेर्नेगरी लेखापाल खटाएको र अस्पताललाई प्राथमिकता दिन नसक्दा ढिलासुस्ती भएकोे बताए । अहिले अस्पताल व्यवस्थापन समिति र आन्दोलनरत चिकित्सव, स्वास्थ्यकर्मीहरबिच बार्ता भैरहेको छ ।