कालीगण्डकी बचाऔँ अभियान : ‘नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ १७

  • १८ आश्विन २०७८, सोमबार
  • 2193 पटक पढिएको

नदी र मानिस
—————
© प्रकाश रम्घाली
(एक)
मानिसलाई छुन
हृदयमा कविताहरू लिएर बगिरहे नदीहरू
नदीलाई छुन
हातमा औजार बोकेर हिँडिरह्यो आजसम्म मानिस ।
(दुई)
दोभानमा भेटिँदा
मानिसले झैं आपसमा
दुवै हात फैलाएर अंकमाल गर्छन् नदीहरू
हार्दिक हुँदैनन् नदीहरू भन्नु
ठिक लाग्दैन यसो त मलाई !
पर्खनुपर्छ दोभानमै—
अचानक भेट भएका पुराना मित्रहरू झैं
हार्दिक लाग्छन् स्नेही नदीहरू ।
(तीन)
नदीलाई पनि
झोंक चल्छ कहिलेकाहीँ ।
—मानिसको जस्तो खुनी झोंक हुँदैन तर नदीको !
आवेग र उत्तेजनामा पनि
शान्त, सरल भिक्षुजस्ता देखिन्छन् नदीहरू ।
(चार)
गीत गाउँदा नदीले
पाउजु लगाएर छमछमी नाच्छन् पहाडहरू ।
बैंसमा मात्र होइन
प्रौढ जीवनमा पनि उत्तिकै प्रिय हुन्छ नदीको स्वर
प्रेम गरी हेर्नोस् नदीलाई—
अन्त्य हुनेछ आजीवन मानिसका तिर्खाहरू !
***
-तनहूँ