कालीगण्डकी बचाऔँ अभियान :’नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ ४

  • ५ आश्विन २०७८, मंगलवार
  • 3043 पटक पढिएको

कालीगण्डकी : चार टुक्रा
…..
© नवराज कार्की
(१)
ओरालो छ यात्रा जीवनको, नदीजस्तै
अविरल बहन्छ नदी पनि, दिनजस्तै
नदी उही हो, दिन उही हो, तर हैन
नयाँ लाग्छ हरेक दिन, त्यो नदीजस्तै ।
(२)
थाहै छ, के हुन्छ यदि, नदी बहुलायो भने
नदी पनि बहुलाउँछ नि, मान्छे बहुलायो भने
आफ्नै सुरमा बग्न देऊ, पवित्र गंगालाई
नदी रिसाउँछ थुन्यो भने, कतै कोट्यायो भने ।
(३)
गाईलाई पूजा गर्नेकै गाईहरू कुपोषित छन्
नदीलाई पूजा गर्नेकै नदीहरू प्रदूषित छन्
केही भएन खै ? पूजा र प्रवचनले
जहाँ रामहरू उपेक्षित छन् र रावणहरू विभूषित छन् ।
(४)
माया हो छेपाराले चाटीचाटी, दर्शन ढुंगालाई चम्काउँछ
माया हो छालले काटीकाटी, कालीले शालिग्राम बनाउँछ
चोटहरु तिखो छिनाकै भए पनि, मायैमायामा दिनाले
ढुंगो पनि मूर्ति बनेर मुस्कुराउँछ ।
० ० ०
-म्याग्दी, हाल: अमेरिका
#Save Kaligandaki