कालीगण्डकी बचाऔँ अभियान :’नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ ३

  • ५ आश्विन २०७८, मंगलवार
  • 2472 पटक पढिएको

नदीहरु मान्छेजस्ता हुँदैनन्
————————
© भूपिन

नदीहरु
मान्छेले झैं राजनीति गर्दैनन्
नदीहरु
मान्छेले झैं कूटनीति जान्दैनन्
निर्जीव संचेतनाका पर्खालहरु भत्काएर
कुरुप हातहरु उचाल्दै नदीहरु
हिलो छ्यापाछ्याप गर्दैनन्
पानी बाराबार गर्दैनन्।

रङ विभाजन गर्दैनन्
नदीहरु
जात विभाजन गर्दैनन्
नदीहरुको संविधानमा सानो मूललाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छ
सानो खोलालाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छ
बिनाकुनै प्रतिबन्ध
पहाड चढ्न सक्छन नदीहरु
पहाड फाँड्न सक्छन् नदीहरु।

नदीहरु
मन लागे सुक्न जान्दछन्
मन लागे फुक्न जान्दछन्
तर कदाचित् नदीहरु
मान्छेजस्तै झुक्न जान्दैनन्
मान्छेजस्तै दुख्न जान्दैनन्।

नदीहरु मान्छेले झैँ
अहंमा चोट लाग्ने भयले
सृष्टिले ठगेका गरिब र पुड्का खोलाहरु देखेर
टाढैबाट तर्किएर हिँड्दैनन्
नदीहरु मान्छेले झैं
रङ नमिल्ने भयले
छुट्टै बाटो ताकेर हिँड्दैनन्
नदीको कालो पानी
नदीको सेतो पानीसँग मिल्न सक्छ
नदीको सेतो पानी
नदीको कालो पानीसँग मिल्न सक्छ
नदीहरु जन्मजात निग्रा हुँदैनन्
नदीहरु जन्मजात गोरा हुँदैनन्
नदीहरु आर्य मंगोलियन हुँदैनन्
हिन्दु, मुस्लिम हुँदैनन् नदीहरु
बुद्धिष्ट क्रिस्चियन हुँदैनन् नदीहरु ।

नदीहरु
नदीहरुजस्तै हुन्छन्
मान्छेजस्ता हुँदैनन् ।
० ० ०
-बलेवा, बागलुङ

#Save_Kaligandaki