बेनीमा म्याग्दी जेसीजको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न

  • ४ आश्विन २०७८, सोमबार
  • 860 पटक पढिएको

म्याग्दी ४ असोज । म्याग्दी जेसीजको आयोजनामा सोमबार बेनीमा अन्तर मा.वि. स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न ७ वटा विद्यालयका १३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुमा रहेको चित्रकला क्षमता प्रष्फुटन र पहिचान गर्ने उद्देश्यले संविधान दिवसको अवसरमा आयोजित प्रतियोगितामा चित्रकला बनाएर प्रतिस्पर्धा गराईएको थियो ।

म्याग्दी जेसीजका शाखा अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले जेसीजको स्थापनादेखि नै विद्यार्थीहरु केन्द्रीत कार्यक्रमले म्याग्दी जेसीजमा प्राथमिकता पाउँदै आएको बताउँदै प्रतिस्पर्धाले विद्यार्थीहरुमा रहेको चित्रकला क्षमता र कलाको पहिचान गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो । बरिष्ट उपाध्यक्ष जेसी सन्दीप खत्रीको संयोजकत्मा सम्पन्न कार्यक्रममा निवर्तमान शाखा अध्यक्ष सुजन बरुवालले स्वागत र महासचिब दिनेश विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा लमजुङ जेसीजका शाखा अध्यक्ष विकास श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । प्रतियोगितामा जेसीजका पूर्व अध्यक्षहरुको स्केच बनाउन लगाईएको थियो । प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कृत सहित म्याग्दी जेसीजले प्रयोग गर्ने मायाको चिनो बनाउने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।