पहिरोले थुनिएको गुर्जाखोलाको अवस्था यस्तो छ, पानी बग्न थालेपछि जोखिम हट्यो (फोटो फिचर)

  • १० श्रावण २०७८, आईतवार
  • 1101 पटक पढिएको

१० साउन, म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ । गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको हो ।
खोला थुनिएर बनेको तलाउबाट पानी बग्न थालेपछि तटिय क्षेत्रमा रहेको जोखिम कम भएको पहिरो स्थलको स्थलगत निरिक्षणमा पुग्नुभएका गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

पहाड खसेर लामो समय खोला थुनिएर बनेको तलाउको पानी बग्न थालेको र तलाउको सतह घट्दै गएको वडा अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । अध्यक्ष छन्त्यालको नेतृत्वमा स्थानीय स्थानीय राम छन्त्याल र सौगात छन्त्यालको टोली आईतवार विहानै पहिरो स्थलमा पुगेर निरिक्षण गरेका थिए ।


गुर्जा र चुरेन हिमालको फेदीमा मुहान भएको गुर्जाखोला म्याग्दी नदीको सहायक खोला हो । धवलागिरि–४ मुदीमा गुर्जाखोला म्याग्दी नदीमा मिसिन्छ । सदरमुकाम बेनीमा आएर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ । पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा बढी पैदल हिँड्नुपर्छ । दुवै किनारमा भिर भएको साँघुरो खोँचमा पहिरो खसेर खोला थुनिएको खेतमा काम गर्न गएका किसानले देखेपछि खबर गरेका थिए ।

 

तस्बिर सौजन्य झक बहादुर छन्त्याल