बागलुङमा घरेलु मदिरा सेवनबाट ४ जनाको मृत्यु,२ जना घाइते

  • ५ श्रावण २०७८, मंगलवार
  • 1162 पटक पढिएको

राम प्रसाद घिमिरे
बागलुङ,५ साउन  । बागलुङ जिल्लाको गलकोट नगरपालिकामा घरेलु मदिरा सेवनका कारण ४ जना मजदुरको ज्यान गएको छ भने २ जना गम्भिर घाइते भएका छन् ।

जिल्लाको गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि सदरमुकामको धौलागिरि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । मृत्यु हुनेहरुमा रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका-५, गजुल बस्ने वर्ष २१ का दिपेन्द्र पुन मगर, सोही स्थानका वर्ष ३० का प्रबिन घर्ति, बर्ष ३९ का दूध बहादुर राना, वर्ष ५१ का रेख बहादुर राना रहेको प्रहरीले जनाएको छ ।
मदिरा सेवनबाट २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका-५, गजुल बस्ने वर्ष २६ का रबिन्द्र पुन र वर्ष ३८ का खेमराज घर्ति रहेको प्रहरीको भनाइ रहेको छ । घाइते दुवैको किड्नीमा असर गरेको देखिएकाे र सदरमुकाम स्थित धौलागिरि अस्पतालमा डायलासिस चलिरहेको अस्पतालका प्रमुख शेलेन्द्र बिक पोख्रेलले बताए ।

गलकोट नगरपालिका वडा नम्बर-७, को मल्म खानेपानी आयोजनामा कार्यरत ६ जना मजदुरहरुले सोही स्थानमा सञ्चालित मिलन किराना पसलमा बसी मदिरा सेवन गरेका र कोठामा फर्कदैगर्दा बिरामी परेको अनुसन्धानबाट खुल्न आएको र उक्त पसलका सञ्चालक भद्र बहादुर थापालाई नियन्त्रण लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारि इकवाल हवारिले बताए ।