म्याग्दीका प्रजिअबाट पत्रकारमाथि दुब्र्यहारः कमजोरी सच्याउन पत्रकार सम्वद्ध संगठनको माग

  • २७ असार २०७८, आईतवार
  • 940 पटक पढिएको

 

म्याग्दी, २७ असार । समाचार संकलनको लागि म्याग्दीको जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारद्धय धिरनबहादुर खत्री र साधन राम्जाली माथि प्रजिअ गणेशबहादुर अधिकारीले दुब्र्यहार गरेका छन् । द्धन्द्ध पिडित अधिकार मञ्च म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रकार राम्जाली र खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न रोक लगाएर प्रजिअले कार्यकक्षबाट निकालेका हुन् ।

आईतबार दिउसो कार्यालयमा द्वन्द पीडित संवद्ध संघसंस्थाहरुले न्याय प्रतिको उत्तरदायित्वबोध र विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रियाको अवलम्वनको माग विषयमा ज्ञापनपत्र बुझाउन द्वन्द पीडित मञ्चका अध्यक्ष सुरेन्द्र खत्रीको नेतृत्वमा पुगेको टोलीले प्रजिअ अधिकारीलाई ज्ञापनपत्र पढेर सुनाउने क्रममा पत्रकारद्धयले तस्विर र भिडियो लिने क्रममा प्रजिअ अधिकारीले दुव्र्यहार गरेका हुन् ।

तस्बिर लिन रोक लगाई, धम्कीपूणर् भाषा प्रयोग र दुब्र्यवहार गर्दै कार्यकक्षबाट निकालिएको पत्रकार राम्जालीले बताउनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव राम्जाली म्याग्दी न्युज डटकम, आदर्शसमाज दैनिक, साधारण सदस्य खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, सम्बृद्ध साप्ताहिक, म्याग्दी अनलाईन र कोरला पोष्ट लगायतका सञ्चार माध्यममा आवद्ध रहेका छन् ।

“आयोजकले ज्ञापनपत्र पढ्न थालेपछि तस्बिर र दृष्य खिच्न क्यामेरा निकाल्दा प्रजिअले कसको अनुमतिमा खिच्नुभयो ? अनुमति बिना मेरो कार्यकक्षमा खिच्न मिल्दैन भन्दै ज्ञापनपत्र पढ्नलाई समेत रोकेका थिए । बाहिर जानुहोस भन्दै धम्काउनुभयो,” राम्जालीले भन्नुभयो “हामिले परिचय दिदाँ पनि अपमानजनक ब्यवहार गरेर धम्काउदै कार्यकक्षबाट निकाल्नुभयो ।”

प्रजिअले समाचार संकलनका लागि गरेको अवरोध र पत्रकारहरुलाई गरेको दुरब्यवहारको नेपाल पत्रकार महासंघ म्याग्दी, म्याग्दी मिडिया सोसाईटी, प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन म्याग्दीले विरोध जनाउदै प्रेस विज्ञप्ती निकालेर प्रजिअ अधिकारीको कामप्रति विरोध जनाएका छन् ।

महासंघका सचिव सन्तोष गौतम, सोसाइटी अध्यक्ष कमल खत्री संगठनका सचिव सन्दिप खत्री र युनियन अध्यक्ष राकेश शर्माले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी प्रजिअ अधिकारीले गरेको दुब्र्यहारप्रति आपत्ति जनाउदै सार्वजनिक माफी माग्न र आगामी दिनमा यस्ता कमजोरी नदोर्‍याउन माग गरेका छन् । पत्रकारले स्वतन्त्र हिसाबले समाचार संकलन गर्न, नागरिकले सूचना पाउने अधिकारको संरक्षण, पारदर्शिता, शुसासन कायम गर्ने वातावरण बनाउन जोडदार माग सचिव गौतमले गरेका छन् ।