बरंजाबासीलाई स्वास्थ्य सामाग्री सहयोग तथा निःशुल्क एम्बुलेन्स सेवा

  • २४ जेष्ठ २०७८, सोमबार
  • 1123 पटक पढिएको

म्याग्दी, २४ जेठ । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक संकलन गरी स्वास्थ्य सामग्री खरिद गरेर सहयोग गरेका हुन् ।


सो स्वास्थ्य सामग्री आर्थिक सहयोग व्यवस्थापन समिति अन्तर्गत बजार व्यवस्थापक तथा समाजसेवी लोकेश पुनले आइतबार एक कार्यक्रमका विच वडा नम्बर ३ र ४ का वडा अध्यक्षद्धय कबिन्द्र रोका मगर र ओमबहादुर रोका मगर मार्फत आर्थिक सहयोग व्यवस्थापन समितिका अध्यक्ष रेशम बुढाथोकी र बरंजा स्वास्थ्य चौकीकी अनमि रन्जना थापालाई हस्तान्तरण गरेका हुन् ।


अमेरिकामा रहेका बरंजीहरुको आर्थिक सहयोगमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमित विरामीको उपचारका लागि दुई थान अक्सिजन कन्सन्टेटर,थर्मोमिटर ,अक्सिमिटर ,मास्क ,सेनिटाइजर,पीपीई लगायत ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरेर हस्तान्तरण गरिएको बजार व्यवस्थापक तथा समाजसेवी पुनले बताए । यसैगरी कार्यक्रममा वडा अध्यक्षद्धय रोकाले स्वास्थ्य सामग्री सहयोगप्रति अमेरिकामा रहेका बरंजीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

आर्थिक सहयोग व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले वडा नम्बर ३ र ४ मा संक्रमणदर थप फैलिन नदिन र संक्रमित विरामीको उपचारमा सघाउन प्रत्येक टोलमा स्वंयसेवक परिचालन गरिएको बताए ।

यस अवसरमा महामारीको समयमा संक्रमितसंगै सबै खाले विरामीलाई अस्पताल लैजान र ल्याउन निशुल्क एम्बुलेन्स सेवा संचालन समेत गरेका छन् ।

एम्बुलेन्स सेवाको लागि
मिलन रोका मगर : ९८५७६५१५२३
बिरबहादुर घर्ति : ९८६६४०४७७३