लायन्स क्लबद्धारा धवलागिरिमा रु ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग (भिडियो/तस्बिर )

  • २५ बैशाख २०७८, शनिबार
  • 994 पटक पढिएको

म्याग्दी २५ वैशाख । लायन्स क्लब अफ बेनी पिस सिटीले धवलागिरि गाउँपालिकामा कोरोना रोकथाम र नियन्त्रणका लागि रु ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । धवलागिरि गाउँपालिकामा कोरोनाको जोखिम बढेको वडा नम्बर २ लुलाङ र वडा नम्बर ७ ताकममा नागरिक र स्वास्थ्यकर्मीहरुलाई समेत सहयोग पुग्ने स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

 

क्लबले सर्जिकल मास्क २ हजार १ सय थान, एन नाइन्टी फाइभ मास्क १०० थान, पर्लस अक्सीमिटर ४ थान, सेनिटाइजर २५ लिटर, ३ सय पिस सावुन र २ डम्बा ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको जनाएको छ । क्लबका अध्यक्ष खम थापा मगर, पूर्व अध्यक्ष एवम रिजन चियर पर्सन लोकेश पुन मगर, स्पोर्टस डाइरेक्टर दुर्गा बुढा मगरले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।


टोलीले वडा नम्बर २ लुलाङ क्षेत्रका लागि गाउँपालिका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल, वडा नम्बर ३ का अध्यक्ष पुर्म पुन वडा नम्बर ७ ताकमको लागि वडा अध्यक्ष कलानिधि सुवेदी र वडा नम्बर ७ धारापानीको लागी स्थानीय अगुवा तेजेन्द्र थापालाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।


दुर्गम क्षेत्र भएको र कोरोनाका संक्रमितको उपचारमा सघाउने उदेश्यले काठमाण्डौ बाट ल्याएर अक्सिमिटर सहितको स्वास्थ्य सामागी सहयोग गरिएको क्लबका अध्यक्ष थापाले बताउनुभयो । क्लबले जिल्लामा स्वास्थ्य शिविर, विपन्नको उपचार, दैवि प्रकोप पीडितलाई राहत, गरिब विपन्नलाई सहायता लगायतका क्षेत्रमा सामाजिक सेवा गर्दै आएको छ । क्लबले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले कोरोना महामारी विरुद्धको अभियानमा महत्वपूर्ण सहयोग पुगेको भन्दै गाउँपालिका अध्यक्ष पुनले सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

उहाँले महामारी विरुद्ध सबै क्षेत्रको साथ, सहयोग र सहकार्य आबश्यक रहेको भन्दै समुदाय स्तरबाट समेत भिडभाड नगर्ने र स्वास्थ्य मापदण्ड पालना गरि थप जोखिम बढ्न नदिनतर्फ रचनात्मक भूमिका खेल्न आह्वान गर्नुभएको छ । धवलागिरि गाउँपालिकामा हाल १२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । म्याग्दी र पर्वतको जलजला गाउँपालिकामा क्रियाशिल लायन्स क्लबहरुको सक्रियतामा कोरोना प्रभावित गाउँ र फ्रन्टलाईनमा रहेर काम गर्नेहरुका लागि मास्क, सेनिटाईजर, पर्लस अक्सिमिटर, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउने कार्यक्रम रहेको रिजन चियर पर्सन पुन मगरले जानकारी दिनुभयो ।