बेनी नगरपालिकामा १० दिन लकडाउन हुने

  • २१ बैशाख २०७८, मंगलवार
  • 1286 पटक पढिएको

बेनी, २१ वैशाख । म्याग्दी सदरमुकाम बेनी बजार आसपासमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न  बेनी नगरपालिका क्षेत्रमा १० दिन लकडाउन (निषेधाज्ञा) गरिने भएको छ ।


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को मंगलवार बेनीमा बसेको बैठकले सर्वदलिय सर्वपक्षिय बैठकको निर्णय र बेनी नगरपालिकाको अनुरोध बमोजिम वैशाख २२ गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलार्य सिफारिस गर्ने निर्णय गरेको हो ।


प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले गरेको सिफारिस बमोजिम आजै बस्ने जिल्ला सुरक्षा समितिको बैठकले बेनी नगरपालिका क्षेत्रमा अत्याबश्यक बाहेकको सेवा बन्द सहितको लकडाउनको निर्णय गर्ने जनाईएको छ ।


सोमबार बेनी नगरपाकिलाको आयोजनामा भएको सर्वदलिय सर्वपक्षिय बैठकले जिल्लामा कोरोना संक्रमणको दर बढेको र थप जोखिमलाई न्यूनिकरण गर्न वैशाख २२ गते रातीदेखि १० दिन लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई सिफारिस गर्ने निर्णय गरेको थियो । म्याग्दीमा हाल ७३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।