सदरमुकामकै योजना अधकल्चो

  • ५ बैशाख २०७८, आईतवार
  • 1123 पटक पढिएको

म्याग्दी, ५ बैशाख । विकास निर्माण योजनाहरुमा दुर्गम र ग्रामिणबस्तीमा सरोकारवालाहरुको ध्यान नपुगेको गुनासो बढी रहेको बेला म्याग्दी सदरमुकाम बेनीमै महत्वको एक आयोजना अधकल्चो बनेको छ । हाईप्रोफाईल निर्माण ब्यवसायीले जिम्मा लिएको आयोजनामा चरम ढिलासुस्तीले अलपत्र परेपछि स्थानीयनै आन्दोलित बनेका छन् ।


प्रंसग हो, सदरमुकाम बेनीस्थित निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनाको । निमार्ण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको समेत साझेदारी रहेको यस आयोजनामा चरम ढिलासुस्ती भएपछि मंगलघाटबासी लगायतले सडक बन्द र प्रशासन कार्यालय घेराउ लगायतका दवावमुलक आन्दोलन गरेका छन् ।


समयै कालोपत्रे नहुदाँ मंगलघाटबासी धुलो र हिलोले आजित भएपछि सडक निर्माणका लागि दवावस्वरुप शुक्रबार आन्दोलित भएका थिए । मंगलाघाट देखि हाडेभिर हुदै बगरफाँट जोड्ने १४ सय मिटर सडक कालोपत्रे गर्ने योजनालाई पुर्णता दिन माग गर्दै मंगलाघाट टोल सुधार समिति, वौद्ध युवा क्लव र आमा समूहले संयुक्त आन्दोलन गरेको मंगलाघाट टोल सुधार समितिका अध्यक्ष खिमबहादुर छन्त्यालले बताए ।
सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको मंगलाघाट देखि बेनी नगरपालिकाको वडा नम्बर २ को हाडेभिर हुदै बगरफाँट जोड्ने सडक कालोपत्रेमा भएको ढिलासुस्तिले नागरिकलाई सास्ति, साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवत जावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको छ ।

मंगलाघाट मंगला, मालिका र धवलागिरी गाउँपालिका र हाडेभिर भकिम्ली, सिंगा र बरंजालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७५ माघ २२ गते देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले पाँच करोड रुपैयाँमा ठेक्का लिएको योजनाको म्याद २०७७ माघमा सकिएपनि निर्माण ब्यवसायीले काम सूचारु गर्न बेवास्ता गरेका छन् ।

कोरोनाको जोखिम, लकडाउन, भेरिएसन अर्डनमा भएको ढिलाई र पर्याप्त बजेट ब्यवस्थापन नहुँदा आयोजनाको काम प्रभावित भएको निर्माण ब्यवसायीको तर्क छ । हालसम्म दुई करोड रुपैयाँ भुक्तानी लगेका निर्माण ब्यवसायीले करिब डेढ वर्षपछि यसै हप्तादेखि बगरफाँट क्षेत्रमा नाली निर्माण सुरु गरेका छन् । बैशाख महिनाभित्र कालोपत्रे पनि गरिसक्ने देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीका प्रतिनिधि नारायण जिसीले बताए ।