पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

  • २८ चैत्र २०७७, शनिबार
  • 1041 पटक पढिएको

म्याग्दी, २८ चैत । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल नेतृत्वको गठबन्धन प्यानल नै विजयी भएको हो । चैत २५ गते भएको मतदानको मतगणना शनिबार सकिएको हो । निर्वाचन समितिले साँझ औपचारिक घोषणा गर्ने बताए पनि निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मा भन्दा २१ सय बढी मत पाएको भन्दै पोखरेल समर्थकले विजयी उत्सव मनाउन थालेका छन् ।


प्रेस युनियन, प्रेस संगठन र माधव नेपाल समूह निकट प्रेस चौतारीसहितले पोखरेल नेतृत्वमा गठबन्धन गरेको थियो । महासंघको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीमा भएको हो । चुनावमा १३ हजार बढी मतदाता थिए । निर्वाचन समितिका अनुसार ९५ प्रतिशत मत खसेको थियो । अध्यक्षमा पोखरेल विजयी हुँदा उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । महिला उपाध्यक्षमा बाला अधिकारी र समावेसी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् ।

रोशन पुरी महासंघको महासचिव बनेका छन् भने गोविन्दप्रसाद चौलागाई खुला सचिव बनेका छन् । महिला सचिवमा सिर्जना अर्याल निर्वाचित भएकी छन् भने आदिवासी जनजाती सचिवमा नारायण सुन्दर किलम्बु विजयी भएका छन् । मधेसी सचिवमा दीपेन्द्र चौहान विजयी हुँदा दलित सचिव हेमकर्ण विक बनेका छन् । एशोसिएट सचिव पवन आचार्य बनेका छन् ।

कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् भने लेखनाथ न्यौपाने लेखा समिति संयोजक बनेका छन् ।