युवा संघको केन्द्रीय उपाध्यक्षमा म्याग्दीका विश्वकर्मा चयन

  • ८ चैत्र २०७७, आईतवार
  • 2098 पटक पढिएको

म्याग्दी ८ चैत । नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको केन्द्रीय उपाध्यक्षमा म्याग्दीका कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । पार्टीका बरिष्ट नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल पक्षिय युवा संघको राष्ट्रिय भेला मार्फत गठीत संघको कमिटिमा विश्वकर्मा उपाध्यक्षमा चयन हुनुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ट नेताद्धय नेपाल र खनाल पक्षबिच बढेको विवाद संगै पार्टीको जनसंगठनहरुमा पनि समानान्तर कमिटी बन्न थालेका हुन् ।

काठमाण्डौमा सम्पन्न राष्ट्रिय भेला मार्फत नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाइएको छ । कमिटिमा म्याग्दीबाट उपाध्यक्षमा विश्वकर्मा संगै केन्द्रीय सदस्यहरुमा जिवन सापकोटा, चन्द्र जुग्जाली, नविन खत्री, अनुप गौचन, ममता जुग्जाली र मदन सापकोटा समेत चयन हुनुभएको छ । ६ चैतमा अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनेको थियो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेपछि खनाल र नेपाल समूहले पनि जयन्ती राईको नेतृत्वमा छुट्टै अनेम संघ बनाएको छ । अनेम संघपछि युवा संघमा पनि समानान्तर कमिटी बनाइएको जनाइएको छ ।