अन्नपूर्ण हिमाल चढ्न म्याग्दी आईपुगिन पूर्णिमा श्रेष्ठ

  • ७ चैत्र २०७७, शनिबार
  • 1319 पटक पढिएको

म्याग्दी, ७ चैत । पूर्णिमा श्रेष्ठले यो वसन्तमा अन्नपूर्ण पहिलो चढ्ने आँट देखाएकी छन्। पेशाले पत्रकार रहेकी र आरोहीको छवि बनाएकी उनै पूर्णिमा अन्नपूर्ण आरोहणको लागि म्याग्दी आइसकेकी छन्। गोर्खा आरुघाटकी स्थायी बासिन्दा पूर्णिमालाई शनिबार अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्वुजाले सफलताको कामनासहित टोलीलाई बिदाई गरेको छ।


फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेको ठ्याक्कै ७० वर्ष भयो। उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गरेका थिए।
अन्नपूर्ण गाउँपालिकाले पनि पूर्णिमाको आरोहणको लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ। पूर्णिमाले पनि मौरिसको पदचिन्ह पच्छ्याउँदै अन्नपूर्ण चुचुरोतिरको यात्रा गर्नेछन्। उनलाई सेभेन समिट ट्रेक्स एण्ड एक्स्पिडिसनको १७ सदस्यीय टोलीले साथ दिनेछ। निकै कठीन मानिने अन्नपूर्ण शिखर चुम्ने पहिलो नेपाली महिला बन्ने सपनासहित उनी त्यसतर्फ जान लागेकी हुन्।
८०९१ मिटर अग्लो ‘अन्नपूर्ण पहिलो’आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको संख्या असाध्यै कम छ। कारण एउटै छ, संसारका ८ हजार मिटर अग्ला १४ मध्ये एउटा भए पनि अन्नपूर्ण चढ्नु साह्रै जोखिमपूर्ण र कठिन छ। नेपाली महिलाहरु त यसको चुचुरोमा पुगेकै छैनन्।
गण्डकी प्रदेश सरकारले उनको आरोहणलाई ८ लाख रुपैयाँ आर्थिक सहयोग पनि गरेको छ। सफलतासँगै उनको नाममा पहिलो महिला सफल आरोहीको किर्तिमानी रहनेछ। गण्डकीमा ८ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धौलागिरी र मनास्लु रहेका छन। पूर्णिमाले यसअघि मनास्लु, सगरमाथा र आमादब्लमको सफल आरोहण गरिसकेकी छन्। तस्विरः राजाराम बरुवाल