बेनी–मालढुंगा सडक खण्ड स्तरोन्नति योजना अघि बढ्यो

  • ६ चैत्र २०७७, शुक्रबार
  • 1920 पटक पढिएको

म्याग्दी, चैत ६ गते । चिन र भारत जोड्ने कालिगण्डकी कोरिडोर अन्तर्गत पर्वतको मालढुङ्गा देखि म्याग्दीको बेनीसम्मको सडकलाई दुई लेनमा विस्तार गरी कालोपत्रे गर्ने योजना अगाडि बढाइएको छ । कालीगण्डकी कोरिडोर अन्तर्गत यस खण्डलाई बहुवर्षीय ठेक्कामार्फत सडक निर्माण गर्न लागिएको हो ।

म्याग्दीको सदरमुकाम बेनी जोड्ने छोटो दूरीको यो सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । यस सडकलाई कालिगण्डकी कोरिडोर अन्तर्गत समावेश गरेर सडक निर्माण थालिएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

मुस्ताङको कोरल्ला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोर अन्र्तगत पर्वतको मालढुंगादेखि म्याग्दीको सदरमुकाम बेनी सम्मको खण्डका रुपमा यो सडकलाई कायम गरेर सडक निर्माणलाई अगाडि बढाइएको हो । मालढुङ्गा देखि बेनीसम्म १३ किलोमिटर साघुरो सडकलाई चौडा पारी मध्यपहाडी सडककै मोडेलमा निर्माण गरिने भएको छ । सडक निर्माणका लागि एपेक्स खड्का कृष्ण जेभी बाँकेलाई छनौंट गरी सम्झौताको चरणमा रहेको आयोजनाले जनाएको छ ।

चैत महिना भित्र निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भई बैशाखबाट काम सुरु गर्ने तयारी रहेको बेनी– जोमसोम कोरला सडक आयोजनाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो । उहाँका अनुसार तीनवर्ष भित्र सडक निर्माण सम्पन्न गरिने लक्ष्य छ । कुल ७२ करोड लागत अनुमान गरिएको भए पनि सवैभन्दा कम मूल्यको प्रस्तावलाई स्वीकृत गरेर ५२ करोड ८६ लाख रुपियाँमा ठेक्का सम्झौता हुने आयोजनाले जनाएको छ ।

सडक निर्माणका लागि अर्थमन्त्रालयले बहुवर्षीय ठेक्काका लागि यसै वर्ष स्वीकृति दिएको थियो । यस अघि म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै कोरल्लासम्म र मालढुंगादेखि बागलुङ्ग र पर्वत तर्फबाट समानान्तर रुपमा सडकको काम भैरहेको थियो । मालढुंगाबाट बेनी पुग्नका लागि मालढुंगा – बेनी सडक वा बागलुङ तर्फबाट कालीगण्डकी किनारै किनार सडक बनाउने भन्ने बिषय अन्योलमा थियो । मालढुंगा – बेनी सडक स्तरोन्नतिका लागि बजेट विनियोजन तथा कालिगण्डकी करिडोरको रुपमा विकास गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहल गर्नुभएको थियो ।

उहाँको निरन्तरको पहलपछि सडक विस्तारका लागि योजना अघि बढेको सचिवालयका अशोक पौडलले बताउनुभयो । २०४८ सालमा म्याग्दीको सदरमुकाम बेनी जोड्नका लागि यो सडक ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्र्तगत शुरु भएको थियो । त्यसपछि मालढुंगा –बेनी –दरबाङ– सडक आयोजनाका रुपमा यसमा काम भएको थियो भने पछिल्लो समय डिभिजन सडक कार्यालय बागलुङ मर्मतको काम गर्दै आएको छ । सडक स्तरोन्नति भएपछि मुस्ताङ जाने पर्यटक र पर्वत, म्याग्दी र मुस्ताङका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।