नयाँ वर्षका अवसरमा बेनीमा प्रथम लोक साँस्कृतिक उत्सव हुँदै

  • ६ चैत्र २०७७, शुक्रबार
  • 1412 पटक पढिएको

बेनी, ६ चैत । म्याग्दी सदरमुकाम बेनीमा नयाँ वर्ष २०७८ का अवसरमा प्रथम लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । ‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो ।

शुक्रवार पत्रकार सम्मेलन गरि प्रतिष्ठानले बैशाख १ देखि ३ गते सम्म बेनीको खुल्ला मञ्चमा उत्सव आयोजना गरिएको जानकारी गराइएको थियो । कोरोनाको कारण ठप्प भएको साँस्कृतिक कार्यक्रमहरुलाई पुरानै अवस्थातर्फ लैजाने र नयाँ बर्षको अवसरमा जिल्लाभर लुकेका नयाँ प्रतिभाहरुको पहिचान गर्ने उदेश्यले उत्सवको आयोजना गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष एवम् कार्यक्रमका मुल संयोजक देवेन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो ।

‘‘ म्याग्दी लोक संस्कृतिको खानी हो, ग्रामिण भेगमा लुकेका प्रतिभालाई बाहिर ल्याउन उत्सवले सहयोग पुग्ने विश्वास लिएका छौँ ’’–घिमिरेले भन्नुभयो । उत्सवमा पालिका स्तरीय लोकदोरी गीत प्रतियोगिता र खुल्ला एकल लोकनृत्य प्रतियोगिता राखिएको प्रतिष्ठान गण्डकी प्रदेश कमिटिका संगठन विभाग सदस्य अमित विश्वकर्माले जानकारी दिनुभयो ।

पालिका स्तरीय लोकदोहोरी प्रतियोगितामा प्रथम,द्धितिय र तितृय हुनेलाई क्रमशः ५० हजार,३० हजार र २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट गायक र गायिकालाई समेत ३/३ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसै गरी खुल्ला एकल लोकदोहोरी प्रतियोगितामा प्रथम, द्धितिय र तितृय हुनेलाई क्रमशः १० हजार,७ हजार र ४ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

उत्सवका अवसरमा प्रतिष्ठानका पूर्व अध्यक्षहरु सहित लोकदोहोरी क्षेत्रमा योगदान पु¥याएका कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको प्रतिष्ठानका सचिब पदम विश्वकर्माले जानकारी दिनुभयो । जातजातिका झाँकी प्रदर्शन सहित सुरु हुने उत्सवमा चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती सहित हाँस्यव्यङ्य तथा विविध साँस्कृतिक कार्यक्रम राखिएको सचिब विश्वकर्माले बताउनुभयो ।

उत्सवको आम्दानीबाट बचत हुने रकमबाट जिल्लामा कलाकार लोककल्याणकारी कोषको स्थापना गरिने भएको छ । उत्सव आयोजनामा रु १० लाख बढी खर्च हुने अनुमान गरिएको आयोजनकले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष घिमिरेको अध्यक्षता, सचिब विश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष जिवनबहादुर विश्वकर्मा र पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले लोक साँस्कृतिक उत्सवले लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।