सेवाग्राही र नागरिकका गुनासा प्राथमिकतामा : प्रजिअ गणेशबहादुर अधिकारी (भिडियाे)

  • ३ चैत्र २०७७, मंगलवार
  • 2440 पटक पढिएको

म्याग्दी ३ चैत । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले सेवाग्राही र नागरिकका गुनासा प्राथमिकताका साथ सुन्ने र उचित सम्बोधनको लागि प्रयासरत रहने प्रतिबद्धता जनाउनुभएको छ । सरुवा भएर म्याग्दीको प्रमुख जिल्ला अधिकारीको रुपमा हालै मात्रै आउनुभएका प्रजिअ अधिकारीले मंगलवार पत्रकारहरुसंग छलफल गर्दै समाजको शान्ति सुरक्षालाई बलियो बनाउन र सार्वजनिक सेवा प्रवाहलाई प्रभाबकारी र पारदर्शी बनाउन नागरिक र नागरिक समाज समेतको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

उहाँले जिल्लाका हरेक नागरिकले गर्ने गुनासाहरुलाई आफुले गम्भीरताका साथ लिने बताउँदै प्रशासनमा नागरिकको सहज पहुँच रहने बताउनुभयो । मोफसलको पत्रकारिता चुनौतिपूर्ण रहेको उल्लेख गर्दै उहाँले सञ्चार क्षेत्रको पेशागत सुरक्षा संगै पत्रकारिता क्षेत्रको विकासमा आफ्नो भूमिका सकरात्मक रहने धारणा राख्नुभयो । उहाँले जिल्लाको विकास निर्माण, विपद व्यवस्थापन लगायतको क्षेत्रमा समेत सरोकारवालासंग आबश्यक समन्वय र सहकार्य गरि प्रभाबकारीता बढाउनेतर्फ आफ्नो जोड रहने बताउनुभयो ।

छलफलमा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले जिल्लामा मेला पर्व व्यवस्थापतमा प्रशासन मार्फत थालिएका प्रयासहरुलाई निरन्तरता दिन र थप प्रभाबकारी बनाउनुपर्ने, लागुऔषध दुव्यसनलाई नियन्त्रणमा प्रहरी प्रशासनबाट उचित कार्यक्रम सञ्चालन गरिनुपर्ने , विद्युतिय अपराधका घटनामा समेत बृद्धि हुन थालेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

 

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्काले प्रशासन कार्यालयबाट उपलब्ध हुने राहदानी लगायतका कतिपय सेवाहरु ढिलासुस्ती हुन थालेको भन्दै ध्यानकर्षण गराउनुभएको थियो । छलफलमा जिल्लाको समग्र अबस्थाबारे पत्रकारहरुबाट प्राप्त सुझाका आधारमा समस्याहरुको पहिचान गरि उचित तवरले समाधान र सुधारको लागि पहल गर्ने प्रजिअ अधिकारीले बताउनुभयो ।