चार महिनापछि ओली र नेपाल भेटवार्ता, विवाद मिलाउन छलफल सुरु
- २ चैत्र २०७७, सोमबार
- 1416 पटक पढिएको
काठमाडौं २ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबिच चार महिनापछि भेटवार्ता भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अहिले ओली र नेपाल समूहबिच भेटवार्ता सुरु भएको हो । प्रधानमन्त्री समेत रहेका ओलीले संसद विघटन गरेपछि ओलीको कदमको विरोधमा नेपाल तत्कालिन नेकपाका अर्का अध्यक्ष प्रचण्डसंग सहकार्य गरि आन्दोलनमा उत्रिएका थिए ।
तर पार्टीभित्र चर्किएको अन्तरसंघर्षका कारण ओली र नेपाल बिच गत कार्तिक २५ गतेदेखि भेटवार्ता हुन सकेको थिएन । त्यसपछि नेपाल र ओली बिचको आजको पहिलो भेट हो । छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् ।
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्यूँताइदिएपछि फेरि ओली–नेपाल–खनाल एउटै पार्टीमा आएपनि एमालेभित्र विवाद झन बढेको छ । एमाले अध्यक्ष ओली हुन् भने नेपाल–खनाल वरिष्ठ नेता छन् । ओलीले आफु पक्षिय केन्द्रीय समिति बैठकबाट नेताहरुको पद खारेज गरेपछि एमाले विवाद थप जटिल मोडमा पुगेको थियो । फेरि फुटतर्फ अग्रसर भएको एमालेलाई आजको बैठकले एकतातर्फ मोड्ने अपेक्षा नेता–कार्यकर्ताले लिएका छन् ।