सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छ : काँग्रेस बरिष्ठ नेता पौडेल

  • १ चैत्र २०७७, आईतवार
  • 1815 पटक पढिएको

 

 

बेनी, १ चैत । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले व्यवस्था जोगाउनतिर भुमिका खेल्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापती डाक्टर भुपेन्द्रबहादुर खड्काको छैटौँ दिनको पुन्यतिथिमा आईतवार जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘‘ लामो संघर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो, यसमा काँग्रेसको ठुलो योगदान छ, वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली यो व्यवस्थाको खिलापमा उत्रिएका छन्, काँग्रेसले सत्ता होइन्, व्यवस्था जोगानुपर्छ’’–पौडेलले भन्नुभयो । काँग्रेसले आफ्नो सिद्धान्त र एजेण्डाहरुलाई जनताले बुझ्ने गरि लैजान नसक्दा विपी कोइरालाकै एजेण्डाहरु बोकेर कम्युनिष्टले दुई तिहाइ नजिकको मत ल्याएको नेता पौडेलले जिकिर गर्नुभयो ।

‘‘ काँग्रेसलाई कम्युनिष्टले किन उछिने ? किन हामीले भन्दा बढी भोट ल्याए ? यसबारे हामीले गम्भिर समिक्षा गर्नुपर्छ, हामीले हाम्रो सिद्धान्त र दर्शनलाई ठिकसंग व्यवहारमा पनि उतार्न सकेनौँ र ठिकसंग जनतालाई बुझाउन पनि सकेनौँ, त्यसले हामी गुपचुमा बस्नु हुँदैन्’’–नेता पौडेलले भन्नुभयो । उहाँले काँग्रेस प्रजातन्त्रबादी संगै समाजवादी समेत रहेको जिकिर गर्दै किसानको पार्टी र श्रमिकको साथि काँग्रेस नै भएको ठोकुवा समेत गर्नुभयो ।

काँग्रेसले समयमै निचोड निकाल्न नसक्दा कम्युनिष्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको नेता पौडेलको भनाई थियो । ‘‘पार्टी र संसदमा अल्पमतमा परेका ओलीले संसद नै विघटन गरे, मुलुकमा अधिनायबादी चरित्र बोकेको सरकारलाई ढाल्न उनैका पार्टीका बहुमत साँसद र नेताहरु लागेका थिए, काँग्रेसले समयमै ढुलमुल नगरेको भए संघियसंगै बागमती र एक नम्बर प्रदेश सकार समेत ढाल्न सकिन्थ्यो,तर त्यो अवसर फुत्कीयो’’– नेता पौडेलले भन्नुभयो ।

उहाँले काँग्रेसले आफु निर्णायक बन्ने अवसर गुमाएको बताउँदै पार्टीले आफ्नो स्पष्ट नीति र विचारलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले ओली सरकारले मुलुकमा अधिनायकबाद लागु गर्न खोजेको आरोप लगाउँदै व्यवस्थामाथिको निरन्तरको प्रहारलाई सहेर बस्न नहुनेमा जोड दिनुभयो । नेपाली काँग्रेस म्याग्दीका पार्टी सभापति खमविर गर्वुजाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला र केन्द्रीय समिटीमा रहेका नेताहरुले सम्बोधन गर्नुभएको थियो भने दिवंगत नेता खड्काको तस्बिरमा माल्यार्पण समेत गरिएको थियो भने खड्काको राजनैतिक र सामाजीक जिवनका योगदानहरुको चर्चा समेत गरिएको थियो ।