नारच्याङमा निर्माण भएको मिस्ट्री खोला जलविद्युतको परीक्षण उत्पादनको तयारी

  • २६ फाल्गुन २०७७, बुधबार
  • 1382 पटक पढिएको

म्याग्दी, २६ फागुन अन्नपुर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माण सम्पन्न भएको ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत् आयोजनाले शुक्रबार देखि परीक्षण उत्पादन गर्ने तयारी गरेको छ । आयोजनाको अहिले उपकरण परीक्षण भइरहेको छ । माउन्टेन इनर्जी कम्पनी प्रालिले निर्माण गरेको आयोजनाको ३ वटै युनिटको परीक्षण (ड्राइ टेस्ट) भइरहेको कन्स्ट्रक्सन म्यानेजर चुडामणि निरौलाले बताए । उनका अनुसार पहिलो युनिटको ९९ प्रतिशत, दोस्रोको ९० प्रतिशत र तेस्रोको ८० प्रतिशत परीक्षण पूरा भएको छ ।


‘उपकरणहरूको परीक्षण पूरा भएपछि शुक्रबारदेखि परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य छ,’ उनले बुधबार ऊर्जा खबरसँग भने, ‘करिब एक हप्तासम्म परीक्षण उत्पादन गरेपछि नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले निरिक्षण गरी व्यापारिक उत्पादनको मिति तोक्ने र प्रणालीमा जोडिनेछ ।’ १५ दिनसम्म परीक्षण उत्पादन गरेपछि चैत्र अन्तिम साताबाट व्यावसायिक उत्पादन सुरु गर्ने योजना छ । गत फागुन १६ गतेदेखि परीक्षण उत्पादन सुरु गर्ने तालिका रहे पनि प्रक्रिया पूरा भइनसकेकाले समय लम्बिएको कम्पनीले जानकारी दिएको छ ।

उत्पादित विद्युत् २२० केभी कालीगण्डकी कोरिडोरको दाना सबस्टेसनमा जोडिनेछ । यो सबस्टेसनको काम पूरा भएकाले माघ २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयबाटै उद्घाटन गरेका थिए । सबस्टेसनसम्मको ४ किलोमिटर प्रसारण लाइन प्रवद्र्धक आफैंले निर्माण गरेको छ ।

२०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएर निर्धारित लक्ष्यभन्दा निकै ढिलो पूरा भएको मिस्ट्री खोला अहिलेसम्म निर्माण भएका निजी क्षेत्रका आयोजना भन्दा निकै सस्तो मानिएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोरको दाना–कुस्मा खण्ड निर्माणमा ढिलाई गर्दा आयोजना पनि प्रभावित भएको थियो ।

प्रसारण लाइन निर्माणको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारी जस्ता घटना भए पनि आयोजना प्रतिमेगावाट करिब १४ करोड रुपैयाँमा पूरा भएको प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ । आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाको लगानी छ ।