कोरोनाले अन्नपुर्णको आन्तरिक आम्दानी गुम्यो

  • २६ फाल्गुन २०७७, बुधबार
  • 1018 पटक पढिएको

म्याग्दी, २६ फागुन । कोरोनाले पर्यटक आगमन ठप्प हुदाँ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको चालू आर्थिक वर्षको आन्तरिक आम्दानी गुमेको छ । पर्यटकीय स्थल घोडेपानी, पुनहिल र तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन नपाएपछि गाउँपालिकाको १ करोड रुपैयाँ बढी आम्दानी गुमेको हो । यो वर्ष पर्यटक आगमन नभएपछि पर्यटकीय स्थलको प्रवेश शुल्क उठाउने ठेक्का लगाउन नसकिँदा आयस्रोतमा असर परेको गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बताए । गत असारमा भएको गाउँसभाले घोडेपानी पुनहिल र तातोपानीको ठेक्काबाट १५÷१५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो ।


आर्थिक वर्षको ८ महिनासम्म पर्यटन गतिविधि चलायमान हुन नसकेपछि आइतबार भएको गाउँसभाले तातोपानीबाट १ लाख र घोरेपानीबाट ५० हजार रुपैयाँ आम्दानी हुने गरी बजेट संशोधन गरेको छ । १ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको रातोपानी र पाउद्वार तातोपानी कुण्डबाट १५÷१५ हजार र ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी कुण्डबाट ५ हजार रुपैयाँ आम्दानी हुने गरी करको दर गाउँसभाबाट घटाएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा घोडेपानी–पुनहिल प्रवेश शुल्क र त्यहाँ चिया पसल सञ्चालनका लागि ६५ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । यसैगरी तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन र त्यहाँ रेस्टुराँ चलाउन ५५ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । घोडेपानी पुनहिल भ्रमण र तातोपानी स्नानका लागि नेपालीलाई प्रतिव्यक्ति ५० र विदेशीलाई १ सय रुपैयाँ शुल्क तोकिएको छ ।

तोकिएको रकम बुझाएर शुल्क बुझाउनेलाई जिम्मेवारी दिने गाउँपालिकाले जनाएको छ । पर्यटकको प्रवेश शुल्क अन्नपूर्ण गाउँपालिकाको मुख्य आन्तरिक आयस्रोत हो । यो वर्ष कोरोनाले आम्दानीसँगै सो परिचालन गरेर हुने विकास गतिविधिसमेत प्रभावित भएको गाउँपालिका अध्यक्ष पुनले बताए ।