मावि तहको शिक्षाको जिम्मा स्थानीय तहलाई दिनु गलत भयोः काँग्रेस नेता गुरुङ (भिडियो)

  • २४ फाल्गुन २०७७, सोमबार
  • 1252 पटक पढिएको

म्याग्दी २४ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले आधारभृुत र माध्यमिक तहको विद्यालयको जिम्मा स्थानीय तहलाई दिँदा सामुदायिक विद्यालयको अवस्था थप कमजोर जटिल बनेको बताउनुभएको छ । नेपाल शिक्षक संघ म्याग्दीको जिल्ला प्रतिनिधि सभाको सोमबार बेनीमा उद्घाटन गर्दै नेता गुरुङले संविधानमा माध्यमिक तहको विद्यालयको जिम्मा स्थानीय तहलाई दिने प्रावधान गलत भएको धारणा राख्नुभएको हो ।

 

उहाँले शिक्षक व्यवस्थापन गर्दा स्थानीय तहले राजनैतिक प्रतिसोध , नाता र चिनजानेकाे आधारमा नियुक्त गर्ने, सरुवा गर्ने कार्य गर्दा सामुदायिक विद्यालयको अवस्था कमजोर बन्न पुगेकाले संविधानको उक्त व्यवस्थालाई परिवर्तन गर्न काँग्रेसले पहल गर्ने बताउनुभयो । ‘‘ स्थानीय तहलाई जिम्मेवारी दिनेत भन्यौँ, तर अवस्था सुदृढ होला भन्दा झन खराब हुँदै गएको छ, क्षमता भएका व्यक्तिहरु भन्दा राजनैतिक कार्यकर्ताहरु शिक्षक बन्न थालेका छन्, संविधानमा दिईएको उक्त अधिकार गलत भएको महसुस हुन थालेको छ’’– उहाँले भन्नुभयो ।


नेता गुरुङले मुलुकको विकास र समृद्धिको पहिलो आधार नै शिक्षाको आमुल परिवर्तनसंग जोडिएको बताउनुभयो । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर घटेकोतर्फ चिन्ता व्यक्त गर्दै नेता गुरुङले आफुले पढाउने विद्यालयमा आफ्ना छोराछोरी बढाउने अवस्था सिर्जना नगरेसम्म शिक्षाको अवस्था सुधार नहुने धारणा राख्नुभयो । ‘‘ जुन स्कुलमा हामी शिक्षकहरुले पढाउँछौँ, त्यहाँ हाम्रा बालबालिकाहरुले पढ्दैनन्, आफुले नीजि स्कुलमा बच्चा पठाउने र अरुका बच्चा खोजेर स्कुल चलाउनुपर्ने अवस्था आउनु बिडम्बनापूर्ण हो’’– उहाँले भन्नुभयो ।


देशभरका अधिकाँश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या नै पु¥याउन नसकेर मर्ज गर्नुपर्ने बाध्यता आउन लागेको भन्दै उहाँले कतिपय सामुदायिक विद्यालयहरुले नमुना पेश गर्न सफल भएको उल्लेख गर्नुभयो । हरेक सरकारका मन्त्रीहरुले शिक्षाको आमुल परिवर्तन गर्ने घोषणा गरेपनि नेतृत्वमा पुगेपछि सबै विर्सने गरेको बताउनुभयो । विद्यालय तहमा मातृभाषमा शिक्षा दिनुपर्ने प्रसंगलाई संकेत गर्दै नेता गुरुङले बालबालिकाहरुलाई विश्व परिवेश सुहाउँदो प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विद्यालयहरुमा अँग्रेजी र नेपाली दुबै भाषा माध्ययमलाई मिसाएर कोर्ष बनाउनुपर्ने र शिक्षकहरुको सुविधा बढाएर क्षमतावान व्यक्तिहरुलाई समेत यस पेशातर्फ आकर्षित गर्नु अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाले समाज रुपान्तरणको अभियानमा शिक्षकहरुले अगुवाइ गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष भरतप्रसाद लम्साल, नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मिकिशोर सुबेदी, शिक्षक संघका गण्डकी प्रदेश अध्यक्ष किशोरमणी लामिछानेले पठन क्रियाकलापलाई प्रबिधिमैत्री बनाउन शिक्षकको क्षमता बिकासमा जोड दिनुभयो ।


यसैगरी नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, प्रवत्ता अजयमिलन श्रेष्ठ, जिल्ला सदस्य मनकुमारी बिक, महिला संघका सभापति बिमला गौचन, जिल्ला सदस्य केबी भण्डारी, सहसचिव भरतबहादुर रकाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । नेपाल शिक्षक संघ म्याग्दीका सभापति दुर्गाराम सुबेदीको अध्यक्षता, उपाध्यक्ष नगेन्द्र खत्रीको स्वागत र सचिव गजेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।