चिमखोलामा दुई झोलुङ्गे पुल निर्माण, दुरी छोटिएपछि स्थानीयबासीमा खुसियाली

  • २४ फाल्गुन २०७७, सोमबार
  • 1650 पटक पढिएको

म्याग्दी २४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा दुई झोलुङ्गे पुल निर्माण भएको छ । गण्डकी प्रदेश सरकार मार्फत चिमखोला गाउँ र सागरेक र संघिय सरकार मार्फत सिस्नेरी रजेकदेखि रघुगंगा गाउँपालिका–६ रायखोरको फड्के जोड्ने दुई झोलुङ्गे पुल निर्माण भएको हो ।


पुल निर्माण पश्चात स्थानीयबासीलाई आवाज जावतमा सहज भएको छ भने दुबै पुलले बाटोको दुरी समेत छोटिएको स्थानीय अगुवा गम पुनले बताउनुभयो । ‘‘ पुल नहुँदा घुमाउरो बाटो आवत जावत गर्नुपर्ने बाध्यता थियो, पुलले दुरी छोटिएको छ भने ओहोरदोहोर गर्न समेत सहज भएको छ’’–पुनले भन्नुभयो ।प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय मार्फत सागरेक र चिमखोला गाउँ जोड्ने गरि करिब रु ३० लाख लागतमा पुल निर्माण भएको चिमखोलाका स्थानीय ओम पुनले बताउनुभयो ।


योजना ठेक्का लिएको हिमशिखर जयलक्ष्मी निर्माण कम्पनीले ७६ मिटर लामो पुल निर्माण सम्पन्न गरिसकेको जनाएको छ । चिमखोला संगै यसै बर्ष मंगला गाउँपालिका–५ अर्मनको खोलाखर्कमा समेत पुल निर्माण सम्पन्न गरिसकेको पूर्वाधार विकास कार्यालयका ईन्जिनियर सन्तोष अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, यस बर्ष थप दुई वटा पुल निर्माणधिन अवस्थामा रहेका छन् ।

त्यसैगरि चिमखोलाको सिस्नेरी र वडा नम्बर ६ को रायखोर आवत जावत गर्नेहरुको सुविधाको लागि १२९ मिटर लामो पुल निर्माण भएको पुनले बताउनुभयो । सस्पेन्शन ब्रिज डिभिजन कार्यालय मार्फत ठेक्काबाट पुल निर्माणमा रु ५९ लाख लागत रहेको जनाईएको छ ।
चिमखोला–सागरेक जोड्ने पुल बनाउन प्रदेश सभा सदस्य विनोद केसी र सिस्नेरी रायखोर जोड्ने पुल निर्माणमा प्रतिनिधि सभा सदस्य थममायाँ थापाले योजना सिफारिस गर्नुभएको थियो । यो पुललाई रघुगंगा नदिमाथि बनेका झोलुंगे पुलहरुमध्ये सबैभन्दा अग्लो समेत मानिएको छ । रघुगंगा र चिमखोलाको दोभान नजीक अग्ला टापुहरुमा बनाईएको पुलबाट बगरखोलाको टाप्टेभेरा झरना समेत अवालोकन गर्न सकिन्छ । पुल निर्माण भएसंगै ४५ मिनेटको बाटो ५ मिनेटमै छोटिएको छ ।