मल्लाजमा मनाइयो धौलागिरी जागरणको वार्षिकोत्सव

  • २३ फाल्गुन २०७७, आईतवार
  • 1163 पटक पढिएको

मल्लाज २३ फागुन । बागलुङबाट प्रकाशित हुँदै आएको धौलागिरी जागरण दैनिकले आफ्नो १४ औं वार्षिकोत्सव पर्वत जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजमा पुगेर मनाएको छ । जागरण दैनिक पत्रिकाले पछिल्लो केही वर्ष यता आफ्नो हरेक वार्षिकोत्सव सदरमुकाम भन्दा बाहिर धौलागिरीका गाउँ–गाउँमा पुगेर मनाउने गरेको छ । यही अभियानकै क्रममा स्थानीय मल्लाज बहुउद्धेश्यीय सहकारी संस्थासँगको समन्वयमा आइतवार पर्वतको ऐतिहासिक कर्णेल दरबार समेत रहेको मल्लाजमा एक विशेष समारोहका बीच वार्षिकोत्सव मनाइएको हो ।

साविक धौलागिरी अञ्चलको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आयोजना गरेको वार्षिकोत्सव समारोहमा बोल्ने वत्ताहरुले जागरण दैनिक पत्रिकाले खेलेको भूमिकाको प्रंशसा गर्दै अबका दिनमा आवाज विहिनको आवाज उठानमा थप जोड दिन आग्रह गरेका थिए ।आन्तरिक पर्यटन प्रर्बद्धनका साथै स्थानीय स्तरमा रहेका स्रोत, साधन र सम्भावनाको खोज सहितका समाचार सामग्री बाहिर ल्याउन, स्थानीय तहलाई जिम्मेवार बनाउन पनि पत्रकारिता मार्फत प्रभावकारी भूमिकाको सहभागीले आवश्यकता औल्याएका थिए ।


वार्षिकोत्सव समारोहको उद्घाटन पछि बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेलले धौलागिरीमा जागरण दैनिक र आदर्श सञ्चार एक सशक्त सबल सञ्चार माध्यम र संस्थाको रुपमा स्थापित भएको बताउनुभयो । राजधानीबाट सञ्चालित बिग मिडिया भनिने सञ्चार माध्यममा समेत कोरोना कहर यता ठूलो समस्या र संकट देखिए पनि मोफसलमा सञ्चालित आदर्शले पत्रकार र पत्रकारिताका लागि गरेको काम अरु धेरैका लागि प्रेरणादायक भएको उहाँको भनाई थियो । ‘पहिले पत्रकार सञ्चारकर्मी र सञ्चार माध्यमलाई निकै संकट थियो, अहिले विस्तारै व्यावसायिक बन्दै गइरहेका छन् यो सकरात्मक कुरा हो’ महासचिव पौडेलले भन्नुभयो ‘पत्रकारले सकरात्मक सन्देश दिने सामाग्रीलाई प्राथमिकता दिनुपर्दछ, हामी मिडिया र पत्रकारको सवलिकरणमा लागिरहेका छौं ।’


कार्यक्रममा धौलागिरी जागरण दैनिकका सम्पादक रामबहादुर जिसीले निकै कठीन अवस्थाबाट शुरु गरिएको सञ्चार माध्यममा समय सापेक्ष नागरिकको आवश्यकता र अपेक्षा अनुसार थप गर्दै अब प्रादेशिक स्तरमै पुग्ने बताउनुभयो । धौलागिरीका चारै जिल्ला र गण्डकी प्रदेशका नागरिक समक्ष पत्रकारिता मार्फत पुग्न आदर्श सञ्चारले धौलागिरी जागरण दैनिकका साथै अग्रसर साप्ताहिक र पछिल्लो समय आदर्श सञ्चार अनलाइन सञ्चालनमा ल्याएको उहाँको भनाई थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापा, सम्पूर्ण पत्रकार सम्वद्ध सघं संगठनको तर्फबाट प्रेस युनियन बागलुङका उपाध्यक्ष संगम घर्ती, मल्लाज बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष लालबहादुर अधिकारीलेले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
संघीयताको कार्यान्वयनसंगै स्थानीय स्तरका सामाग्रीमा जोड दिइरहेको जागरणले यसपटक जिल्ला बाहिर धौलागिरीलाई आधार बनाएर वार्षिकोत्सव मनाएको संस्थाका प्रवन्धक दिपक सापकोटाले बताउनुभयो ।


वार्षिकोत्सव समारोह पत्रिकाका प्रकाशक संस्था आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काकोे स्वागत मन्तव्य र पत्रिकाका कार्यकारी सम्पादक दिल शिरीषको सञ्चालनमा सम्पन्न भएको थियो । २०६३ साल मंसिर २७ गते स्थापना भएको आदर्श सञ्चार सहकारी संस्थाले सोही वर्ष फागुन २३ गतेदेखि धौलागिरी जागरणको प्रकाशन शुभारम्भ गरेको थियो । शुरुमा अर्धसाप्ताहिक रुपमा प्रकाशन गरिएको पत्रिका २०६५ जेठ १ गतेदेखि दैनिक रुपमा प्रकाशित हुदै आएको छ ।

२०६८ साउनदेखि धौलागिरी जागरण दैनिकको सह–प्रकाशनका रुपमा अग्रसर साप्ताहिक पनि प्रकाशित हँुदै आएको छ । सहकारीले पछिल्लो समय डिजिटल पत्रकारितालाई अगाल्दै आदर्श सञ्चार डटकम समेत सञ्चालनमा ल्याएको छ । ३२ जनाको ३ लाख २० हजार रुपैया संकलन गरी शुरुवात गरिएको संस्थामा हाल दुई हजार ५०० शेयर सदस्य, ५ करोड शेयर रकम, ३३ करोड बचत तथा ३१ करोड लगानी रहेको छ । सूचना र सञ्चारसंगै वचत तथा ऋण सहित सामाजिक क्रियाकलापमा संलग्न आदर्श सञ्चार सहकारीले आफ्नो कार्यक्षेत्र विस्तार गरी प्रदेश स्तरीय बनाउने कार्ययोजना अनुसार प्रक्रिया अगाडि बढेको जनाइएको छ ।