मौवाफाँटमा बहुउदेश्यीय सभाहल निर्माण सुरु, चिमखोलामा बेलिब्रिज बन्दै

  • २३ फाल्गुन २०७७, आईतवार
  • 1543 पटक पढिएको

म्याग्दी २३ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा बहुउदेश्यीय सभाहल निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा निर्माण हुन लागेको सभाहल भवनको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले सिलान्यास गर्नुभएको छ । गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मार्फत विनियोजन भएको रु ७० लाख बजेट र गाउँपालिका मार्फत विनियोजन भएको रु ४३ लाख बजेट मार्फत सुविधासम्पन्न सभाहल निर्माण गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, कुल रु १ करोड १३ लाख बजेट विनियोजन भएकोमा ठेक्का मार्फत हिमालयन बिल्डर्ससंग रु ७६ लाखमा सभाहल निर्माण गर्ने योजनाको ठेक्का सम्झौता भएको छ । पिप्लर सहितको दुई तला भएको सभाहल भवन निर्माण योजना आगामी असार मसान्तभित्रै सम्पन्न गर्ने तयारी रहेको छ । गाउँपालिकाले भुइतलामा सभाहल र माथिल्लो तलामा कार्यालय प्रयोजनको लागि उपयोग गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

सभाहलमा १५० जना क्षमताको रहने गरि पूर्वाधार समेत बनाउने गाउँपालिकाले जनाएको छ । यसैबिच रघुगंगा गाउँपालिका–७ चिमखोला स्थित बगरखोलामा बेलिब्रिज निर्माण सुरु भएको छ । चिमखोलाको जिरोखोरेदेखि अमिल्छे जोड्ने बगरखोलामा सवारी वारपारको लागि यस क्षेत्रमा जलविद्यूत निर्माण गर्न लागेका तुँदी पावर र संयुक्त उर्जा कम्पनीले संयुक्त लगानीमा बेलिब्रिज निर्माण सुरु गरेका हुन् ।


बेलिब्रिज योजनाको समेत गाउँपालिका अध्यक्ष भण्डारीले शिलान्यास गर्नुभएको छ । रघुगंगा गाउँपालिकाको चिमखोला र कुइनेमंगले क्षेत्रमा संयुक्त ऊर्जा प्रा.लि.ले २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत, तुँदी पावर कम्पनीले ३५.५ मेगाघाट क्षमताको राहुघाट मंगले र ४८ मेगावाटको अपर राहुघाट जलविद्यूत आयोजना निर्माण कार्य अघि बढाएका छन् ।