नेकपा नाम विवाद : सर्वोच्च अदालतद्धारा ऋषि कट्टेलको पक्षमा फैसला

  • २३ फाल्गुन २०७७, आईतवार
  • 905 पटक पढिएको

काठमाडौं २३ फागुन । नेपाल कम्युनिष्ट पार्टीको नामको सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरेको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको थियो । निर्वाचन आयोगले दर्ता गरेको यस पार्टीको नाम आफ्नो पार्टीसंग मिलेको भन्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सर्वोच्चमा रिट दायर गरेको थियो ।

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको यो निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद थप जटिल बनेको छ । अब सर्वोच्च अदालतको यो फैसलासँगै निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) लाई नाम परिवर्तनका लागि बोलाउनेछ । त्यसका लागि दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल अनि महासचिवमा विष्णु पौडेल भएको पार्टी नै आधिकारिक निर्णय गरेर आयोगमा जानुपर्नेछ । नाम परिवर्तन गर्दा विधानसमेत परिवर्तन गर्नुपर्ने भएकाले नेकपाका केन्द्रीय सदस्यमध्ये दुई तिहाइले त्यसबारे निर्णय गर्नुपर्नेछ ।