कोभिड विरुद्धको दोस्रो चरणको खोप अभियान म्याग्दीमा आइतबार देखि सुरु

  • २२ फाल्गुन २०७७, शनिबार
  • धिरन खत्री
  • 1275 पटक पढिएको

 

म्याग्दी, २२ फागुन । विश्वभरी महामारीको रुपमा देखापरेको कोभिड १९ रोग विरुद्धको दोस्रो चरणको खोप अभियान आईतबार देखि संचालन हुने भएको छ। नेपालभर हुने दोस्रो चरणको खोप अभियान अन्तरगत स्वास्थ्य कार्यालय म्याग्दीले ६५ बर्ष भन्दा माथि उमेर समुहलाई लक्षित गरेर खोप लगाउने अभियान संचालन गरेको हो ।

वडा वडामा रहेको खोप केन्द्रबाट ६५ बर्ष माथिका ५ हजारलाई लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साले जनाएको छ । कार्यालयले दोस्रो चरणको खोप अभियान २३ गते देखि बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा लगाउने अभियान छ, भने रघुंगगा र अन्नपूर्ण गाउँपालिकामा २६ गते देखि सुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

माघ १४ गतेबाट सुरु भएको पहिलो चरणको खोप अभियानमा म्याग्दीमा २ हजार ४९४ जनालाई लगाइएको थियो । पहिलो प्राथमिकतामा स्वास्थ्यकमी र सुरक्षाकर्मीलाई लक्षित गरेर ८ सय ८४ जनालाई र दोस्रो प्राथमिकतामा कर्मचारी र पत्रकार लगायतलाई १ हजार ६१० जनालाई लगाईएको निमित्त प्रमुख लम्सालले बताए ।

कोभीड १९ को संक्रमण दर तथा रोग लागेपछि मृत्यु हुने दर विशेषगरी ६५ बर्ष भन्दा माथि उमेर समुह बढी रहेकोले जेष्ठ नागरिकलाई प्राथमिकता राखेर खोप अभियान संचालनमा छ। आईतबारदेखि सुरु हुने अभियानमा स्थानीय तहको वडावडामा रहेको स्वास्थ्य चौकीमा जेष्ठ नागरिकलाई ल्याउन जनप्रतिनिधि र स्थानीयबासीलाई आग्रह गरिएको लम्सालले बताए ।

दोस्रो चरणमा म्याग्दीमा ६५ बर्ष माथिका ८ हजार ५६२ जना भएपनि ५ हजार खोप आएकाले बाकीलाई अर्को चरणमा मात्र खोप लगाउने योजना रहेको कार्यालयले जानकारी दिएको छ। जिल्लाभर रहेका ५४ वटा स्वास्थ्य चौकीहरुमा खोप लगाउने अभियानमा तालिम प्राप्त एक सय जना स्वास्थ्यकर्मी रहेका छन् ।
खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, आलस्यता आउने, थकाइ लाग्ने तथा कमजोर भएको महशुस हुने लक्षण देखिने बताउदै कोभिडको खोप लगाइसकेपछि पनि जनस्वास्थ्यका मापदण्ड तथा नियमहरु पालना गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीशाखाका अध्यक्ष तारानाथ शर्मा, संस्थापक अध्यक्ष घनश्याम खड्काले खोप लगाएपनि कोभिड १९ बाट जोगिन माक्स लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l