सरकार र विप्लवबिच ३ बुँदे सहमति, ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

  • २० फाल्गुन २०७७, बिहीबार
  • 1936 पटक पढिएको

म्याग्दी २० फागुन । सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहबिच ३ बुँदे सहमति भएको छ । विहिवार भएको वार्ता टोलीहरुबिचको बार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने र विस्तृत सहमती सार्वजनिक गर्ने सहमती भएको हो ।


सहमतीमा विप्लव समूहले हिंसा छाड्ने र सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य भट्टराईले जानकारी दिए । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने जनाइएको छ । राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।

बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । प्रेस नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको उल्लेख छ । हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।