यसरी सम्भव भयो अजिङ्गर भिरमा मोटर सरर (भिडियो)

  • १८ फाल्गुन २०७७, मंगलवार
  • 1466 पटक पढिएको

म्याग्दी १८ फागुन । म्याग्दीको गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमंगले सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक यसै बर्ष मात्रै गाउँपालिका र जलविद्युत निर्माण गर्ने तुँदी पावर र संयुक्त उर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विष्फोटक पदार्थको सहायताले सडकको ट्याक निर्माणले पूर्णता पाएको छ । सडकको ट्याक निर्माण भएर नियमित रुपमा सवारी वारपार गर्न थालेसंगै भव्य समारोह आयोजना गरि बाजागाजा सहित सडकको उद्घाटन गरिएको हो ।

 

गलेश्वरदेखि कुइनेमंगलेसम्म ३६ किलोमिटर सडकको ट्याक निर्माणमा स्थानीय सरकार संगै संघिय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ । विकट वस्तीहरु दर्मिजा, चिमखोला कुइनेमंगले सडक सञ्जाल सँग जोडिएपछि स्थानीयले बाजागाजा सहित खुसीयाली बनाएका छन् । वडा नम्बर ४ दर्मिजाका ९६ बर्षिय ज्येष्ठ नागरिक दलबहादुर गर्बुजा, वडा नम्बर ८ कुइनेमंगलकी ९३ बर्षिया उडिमा कमिनी, र वडा नम्बर ७ चिमखोलाकी १० बर्षिया बालिका लिस्मा पुनले सडकको संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई ३ बर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, संघ र जलविद्युत निर्माण गर्ने कम्पनीहरुसंगको साझेदारीमा सडकको ट्याक निर्माण सम्भव भएको हो । आर्थिक बर्ष २०७४/०७५ देखि हालसम्म यस सडकखण्डमा १७ करोड बढी बजेट खर्च भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले गाउँपालिका, प्रदेश र संघिय सरकारबाट यस सडकखण्डमा कुल ४ करोड ५ लाख ७२ हजार ६ सय ८७ खर्च भएको जानकारी दिए ।

त्यसमध्ये गाउँपालिबाट रु ३ करोड ६२ लाख ६० हजार ७ सय ५६ , प्रदेश सरकारबाट २१ लाख ५४ हजार ४ सय ६६ र संघिय सरकार मार्फत स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत २१ लाख ५७ हजार ४ सय ६५ खर्च भएको छ भने गाउँपालिका अध्यक्ष भण्डारीले समेत व्यक्तिगत रुपमा रु १० लाख परिचालन गरेका छन् । यस बर्ष गाउँपालिकाको पहलमा चिमखोला र कुइनेमगंले क्षेत्रमा जलविद्युत निर्माण सुरु गरेका तुँदी हाईड्रोपावर र संयुक्त उर्जा प्रालिले रु ११ करोड बजेट यस क्षेत्रको सडक निर्माणमा खर्चिएको जनाएका छन् । सडक डिभिजन कार्यालयले तीन बर्षको अवधिमा २ करोड ७६ लाख ४९ हजार ५ सय २४ रुपैयाँ बिनियोजन भई काम गरेको पाईएको छ ।