अजिङ्गर भिरमा सडक निर्माण भएपछि दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमंगले सडक उद्घाटन (फोटो फिचर)

  • १७ फाल्गुन २०७७, सोमबार
  • 1781 पटक पढिएको

म्याग्दी १७ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा गौरवको आयोजनाको रुपमा सञ्चालन भएको दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमंगले सडकको उद्घाटन गरिएको छ । गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमंगले सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक यसै बर्ष मात्रै गाउँपालिका र जलविद्युत निर्माण गर्ने तुँदी पावर र संयुक्त उर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विष्फोटक पदार्थको सहायताले सडकको ट्याक निर्माणले पूर्णता पाएको थियो ।

सडकको ट्याक निर्माण भएर नियमित रुपमा सवारी वारपार गर्न थालेसंगै सोमबार भव्य समारोह आयोजना गरि बाजागाजा सहित सडकको उद्घाटन गरिएको हो । गलेश्वरदेखि कुइनेमंगलेसम्म ३६ किलोमिटर सडकको ट्याक निर्माणमा स्थानीय सरकार संगै संघिय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ । विकट वस्तीहरु दर्मिजा, चिमखोला कुइनेमंगले सडक सञ्जाल सँग जोडिएपछि स्थानीयले बाजागाजा सहित खुसीयाली बनाएका छन् । सोमबार गाउँपालिकाको वडा नम्बर ४ दर्मिजामा बाजागाजा र नाचगान सहित सडकको उद्घाटन गरिएको हो ।

वडा नम्बर ४ दर्मिजाका ९६ बर्षिय ज्येष्ठ नागरिक दलबहादुर गर्बुजा, वडा नम्बर ८ कुइनेमंगलकी ९३ बर्षिया उडिमा कमिनी, र वडा नम्बर ७ चिमखोलाकी १० बर्षिया बालिका लिस्मा पुनले सडकको संयुक्त रुपमा उदघाटन गर्नुभएको हो । अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई ३ बर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, संघ र जलविद्युत निर्माण गर्ने कम्पनीहरुसंगको साझेदारीमा सडकको ट्याक निर्माण सम्भव भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । ‘‘ प्रभावित तीन वटै वडाबाट यस बर्ष गौरवको योजना यसै योजनामा परिचालन भयो, गाउँपालिकाको पहलमा दुई जलविद्युत अयाोजनाहरुले समेत साझेदारी गरेपछि अन्तत् सडकको ट्याक निर्माणले पूर्णता पायो, आगामी दिनमा सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउनतर्फ हाम्रो पहलकदमी रहनेछ’’–अध्यक्ष भण्डारीले भन्नुभयो ।

आर्थिक बर्ष २०७४÷०७५ देखि हालसम्म यस सडकखण्डमा १७ करोड बढी बजेट खर्च भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले गाउँपालिका, प्रदेश र संघिय सरकारबाट यस सडकखण्डमा कुल ४ करोड ५ लाख ७२ हजार ६ सय ८७ खर्च भएको जानकारी दिनुभयो । त्यसमध्ये गाउँपालिबाट रु ३ करोड ६२ लाख ६० हजार ७ सय ५६ , प्रदेश सरकारबाट २१ लाख ५४ हजार ४ सय ६६ र संघिय सरकार मार्फत स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत २१ लाख ५७ हजार ४ सय ६५ खर्च भएको छ भने गाउँपालिका अध्यक्ष भण्डारीले समेत व्यक्तिगत रुपमा रु १० लाख परिचालन गर्नुभएको छ ।

यस बर्ष गाउँपालिकाको पहलमा चिमखोला र कुइनेमगंले क्षेत्रमा जलविद्युत निर्माण सुरु गरेका तुँदी हाईड्रोपावर र संयुक्त उर्जा प्रालिले रु ११ करोड बजेट यस क्षेत्रको सडक निर्माणमा खर्चिएको जनाएका छन् । सडक डिभिजन कार्यालयले तीन बर्षको अवधिमा २ करोड ७६ लाख ४९ हजार ५ सय २४ रुपैयाँ बिनियोजन भई काम गरेको पाईएको छ । मोटरबाटो उद्घाटन गर्दै ज्येष्ठ नागरिकद्धय कमिनी र गर्बुजाले गाउँमा सडक निर्माण भई गाडीहरु आएका देख्दा आफूलाई निकै खुसी लागेको बताउनुभएको थियो । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति खम बहादुर गर्बुजाले सडक निर्माणले जनतालाई राहत मिलेको बताउदै सडकलाई नियमित सञ्चालन गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


कार्यक्रममा जलविद्युत आयोजना तुँदी पावर कम्पनीका उपेन्द्रराज गौतम र सयुक्त उर्जा प्रालिका प्रतिनिधि सुवास बरालले यस क्षेत्रमा आफ्नो जलविद्युत अयोाजनाहरुको काम अघि बढाउनुको साथै स्थानीयको सहजताको लागि गाउँपालिकको समन्वयमा आफुहरुले सडक निर्माणमा हातेमालो गरेको बताउनुभयो । उद्घाटन समारोहमा वडा नं १ का अध्यक्ष बिलबहादुर फगामी, वडा नं ३ का अध्यक्ष जिवनकुमार मल्ल, वडा नम्बर ४ का अध्यक्ष रुकबहादुर गर्वुजा, वडा नं ६ का अध्यक्ष मनकुमार शेरपुजा वडा नं ७ का अध्यक्ष देउप्रसाद पुन, वडा नं ८ का अध्यक्ष गमान छन्त्याल, कार्यपालिका सदस्य यामकुमारी घर्ती,गाउँसभा सदस्यबाट लक्ष्मण पुन,धनप्रसाद गर्बुजा, वडा नं ८ का स्थानीय अगुवा एवम् नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य ओम छन्त्याल, चिमखोलाका नेकपाका नेता गम पुन, उपभोक्ता समितिको तर्फबाट सुविन शेरपुञ्जा, पत्रकार कमल खत्रीले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष भण्डारी, स्वागत उपाध्यक्ष कमला तिलिजा र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुबेदीले गर्नुभएको थियो ।