मालिकाकी विपन्न परिवारकी छात्रा अञ्जनालाई सहयोग जुटाईदै

  • १४ फाल्गुन २०७७, शुक्रबार
  • 1735 पटक पढिएको

म्याग्दी १४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमक विद्यालयको कक्षा ६ मा अध्ययनरत विपन्न परिवारकी एक छात्रालाई सहयोग जुटाउन थालिएको छ । रघुगंगा गाउँपालिका–३ मालिका घर भएकी अञ्जना परियार विपन्नता र गरिबीको कारण विद्यालयमा खाना नै नखाईकन आउने गरेको भेटिएपछि विद्यालयले छात्राको सहयोगार्थ सहयोग जुटाउन थालेको हो ।

विद्यालयमा भोकभोकै आएको जानकारी पाएपछि विद्यालयका शिक्षकहरुले तत्कालै नै खाद्यान्न संगै शैक्षिक सामाग्रीहरु समेत खरिद गरि परियारको घरमै पुगेर उपलब्ध गराएको विद्यालयका प्रधानध्यापक अमर केसीले बताउनुभयो । ‘‘ विहिवार विद्यालयमा आएपछि रोइरहेको देखेपछि अञ्जनाका साथिहरुले हामीलाई जानकारी गराएका थिए, बुझ्दै जाँदा उनी दुईदिनदेखि खाना नै नखाई विद्यालय आएको रहिछन्, त्यसपछि उनको पारिवारिक समस्या बुझेपछि विद्यालयका स्टार्फहरु मार्फत तत्कालै नै सहयोग ग¥र्यौ’’– प्रअ केसीले भन्नुभयो ।

अञ्जना सानै उमेरमा रहँदा बुबाको मृत्यु भएको थियो भने दिदीको समेत ग्याँस विस्फोटमा परेर मृत्यु भएको छ । आमा मानसिक रोगबाट पीडीत रहेको र घरमा भएका दाईले समेत परिवारको रेखदेख नगर्ने भएकाले परिवारमा दैनिक गुजारा चलाउन समेत धौधौ पर्ने देखिएपछि उनको लागि सहयोग जुटाउन थालिएको विद्यालयका कम्युटर शिक्षक मोहनबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार, सहयोगदाताहरुबाट दुई दिनमा करिब २५ हजार सहयोग जुटेको छ । संकलन हुने सहयोगलाई छात्रा र विद्यालयको आधिकारिक व्यक्ति समेत गरि दुई जनाको संयुक्त खाता सञ्चालन गरि उनको दैनिक घरखर्च र पढाईमा परिचालन गर्ने योजना बनाएको शिक्षक कार्कीले जानकारी दिनुभयो ।