स्थानीय तहमा गौरवका योजना : ‘साख जोगाउँदै, आशा बढाउँदै’

  • १३ फाल्गुन २०७७, बिहीबार
  • कमल खत्री
  • 1503 पटक पढिएको

कमल खत्री
बेनी, १३ फागुन । साना–साना योजना । बजेट सकिने विकास । आर्थिक बर्षको अन्तमा बजेट सकिन्छ, विकास बाढीले बगाउँछ । संघियता कार्यान्वयनको सुरुवाती बर्षहरुमा देशभरका अधिकाँश स्थानीय तहमा देखिएका साझा समस्या हुन् । अधिकाँश स्थानीय तहहरुले यो समस्या अहिले पनि उस्तै छन् । यसमध्येमा म्याग्दीको मंगला गाउँपालिकाले केहि फरक र उपलब्धीमुलक ढंगले आफ्ना विकास निर्माणलाई अगाडी बढाएको छ ।टुक्रे योजनालाई नियन्त्रण गर्दै स्थानीय तहकै अगुवाईमा गौरबका योजना सञ्चालन गर्ने ‘विकास मोडेल’लाई मंगलाले अगाडी बढाएको छ ।

संघिय, प्रदेश सरकारसंगको साझेदारीमा केहि ठुला र महत्वका योजना सञ्चालन गरिएको छ । चालु आर्थिक बर्षमा पालिकाबाट १३५ वटा योजनाहरु छनौट भएकोमा अधिकाँश योजनालाई वैशाखभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ योजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम भैरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगानाले बताउनुभयो ।

उहाँका अनुसार, ११० वटा योजना सम्झौता भैसकेका छन् । १२ वटा योजनाले अन्तीम भुक्तानी समेत लगीसकेका छन् । दर्जनौँ योजना फागुन महिनाको अन्तसम्ममा सम्पन्न हुने गरि तिब्र रुपमा अघि बढेका छन् । ‘‘ गाउँपालिकाले ठुला योजनालाई ठेक्का प्रकृया मार्फत कार्यान्वयन गर्ने नीति लिएको छ, यसरी योजना कार्यान्वयन गर्दा गाउँपालिकाको बजेट पारदर्शी तवरले खर्च हुने र विकास निर्माणमा जबाफदेहिता बढ्ने अपेक्षा गरेका छौँ’’–प्रमुख प्रशासकिय अधिकृत ढुंगानाले भन्नुभयो ।
गाउँपालिकाले पूर्वाधार निर्माणतर्फ टुक्रे योजनालाई घटाएको छ । संघ र प्रदेश सरकारसंघ साझेदारी गरि पालिका स्तरमा गौरबका योजनाहरुलाई अघि बढाएको छ । पाँच वटा रु १ करोड बढी बजेटका योजना कार्यान्वयनमा जुटेको पालिकाको केन्द्र रहेको बावियाचौर बजार कालोपत्रे गर्न प्रदेश सरकारसंग साझेदारी गरेको छ । गाउँपालिकाले रु १ करोड १३ लाख लागत स्टिमेटमा बजार कालोपत्रे योजना सञ्चालन गरेको हो ।

करोड बढी बजेटकै दुई नमुना सडक आयोजना समेत अघि बढाईएको छ । रु ३ करोड ३४ लाख बजेटबाट वडा नम्बर तीन र चारका नागरिकलाई गाउँपालिकाको केन्द्र आउने पोक–सातविसे–ज्यामिरे–खर्सुपानी, ३ नम्बर वडा कार्यालय हुँदै ४ नम्बर वडा कार्यालय बुकेनी जोड्ने सडक स्तरोन्नती र रु १ करोड १५ लाख बजेटबाट बावियाचौर–पैयुँपाटा– कुहुँ–अधेरीखोला–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडक स्तरोन्नती गर्न सुरु गरेको छ । त्यसैगरि गाउँपालिकाले पुलचोक–पिपलबोट–पाखुँ–धारा–सिर्कुम–टिकाबाङ सडकखण्डको हाँडेभिर क्षेत्रमा बाढीले बगाएको सडक निर्माण र बस्ती संरक्षणको लागि रु १ करोड बजेट विनियोजन गरि कार्यान्वयनमा जुटेको छ । नदी नियन्त्रण गर्दै सडक निर्माण गर्न आरसिसी पर्खाल निर्माण गर्ने यस योजना ठेक्का मुल्याङ्कनको क्रममा रहेको छ । गाउँपालिकाको केन्द्रदेखि काफलचौर–सल्यान–भर्जुला– भाइबाङ– हिदी सडक स्तरोन्नतीको लागि विनियोजन गरेको रु ५० लाख बजेटलाई समेत ठेक्का प्रकृया मार्फत मंगला कन्ट्रक्सनसंग सम्झौता गरि धमाधम पूर्वाधारको काम भैरहेको गाउँपालिकाका इन्जिनियर सुजन पाध्यायले जानकारी दिनुभयो ।


गाउँपालिकाले मंगला माविलाई नमुना विद्यालयको रुपमा विकास गर्न भवन पूर्वाधारमा संघिय शसर्त अनुदानबाट प्राप्त रु १ करोड ५० लाख बजेटलाई समेत ठेक्का प्रकृया मार्फत कार्यान्वयनमा जुटेको छ । गाउँपालिकाले सडक, शिक्षा, एकिकृत भवन, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई अघि बढाएको अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । यस गाउँपालिकाले हरेक गाउँमा महिला, दलित, जनजाति, आमा, युवा लगायतका बर्ग र क्षेत्रका लागि छुट्टाछुट्टै र स–साना भवन बनाउने परिपार्टीलाई हटाउँदै बहुउपयोगका लागि एकिकृत भवन निर्माण गर्ने योजना सञ्चालन गरेको अध्यक्ष रोकाको भनाई छ । अहिलेसम्म गाउँपालिकाले सिमलचौर, भाइबाङ, हिदी, झाँक्रेपानी, कुर्सिम्ला, पखेर लगायतका गाउँमा एकिकृत सामुदायिक भवन निर्माण गरिसकेको छ भने थाइबाङ र भर्जुलामा यस बर्ष भवन निर्माण कार्यलाई सम्पन्न गर्ने तयारी गरिएको छ । पर्यटकीय स्थल झाँक्रिपानीमा पर्यटकको लागि भ्यू टावर समेत निर्माण गरिसकिएको छ । जिल्ला समन्वय समितिको कोषबाट प्राप्त बजेटबाट बुकेनीमा वडा नम्बर ४ को वडा कार्यालय भवन समेत तयार भएको छ । जिल्लामा आफै योजना सञ्चालन गरि वडा कार्यालय भवन निर्माण गर्ने मंगला नै पहिलो हो ।


                                                                     सडक कालोपत्रे गर्नेे पहिलो गाउँपालिका
मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे भएको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गरिएको हो । सडक कालोपत्रे भएपछि बजार क्षेत्र चिटिक्क र सफा देखिएको छ । म्याग्दीमा बेनी नगरपालिका क्षेत्र बाहिर गाउँपालिका स्तरमा सडक कालोपत्रे भएको यो पहिलो योजना हो । जिल्लाको बेनी बजारसंगै गलेश्वर र रत्नेचौरमा छोटो दुरीको सडक मात्रै कालोपत्रे छ । एक नगरपालिका बाहेक ५ गाउँपालिकाहरुमा कुनै पनि सडक पक्की छैन् ।

बावियाचौरको कालोपत्रे नै जिल्लामा रहेका गाउँपालिकाहरुमा भएको पहिलो कालोपत्रे योजना हो । गत बर्ष नै सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोना महामारीको कारण प्रभावित भएको योजनालाई प्रदेश सरकारसंगको सहमतीमा म्याद थप गरि सम्पन्न गर्न लागिएको गाउँपालिकाका इन्जीनियर सुजन पाध्यायले जानकारी दिनुभयो । करिब ६ सय मिटर सडकलाई ३ दशमलब ७५ मिटर फराकिलोमा कालोपत्रे गर्ने सम्झौता अनुसार सडक कालोपत्र गरिएको छ । सडकको अधिकाँश स्थानमा स्टिमेटभन्दा बढी साढे ४ मिटर फराकिलोसम्म सडक कालोपत्रे गरिएको सोमरस निर्माण सेवा कम्पनीका सञ्चालक प्रविन सापकोटाले बताउनुभयो । गत बर्ष बेस र सबबेस संगै सडकको नाली लगाएको पूर्वाधार बनाउने काम सम्पन्न भएको थियो । हिउँदमा धुलो र बर्षा याममा हिलोको सास्ती भोग्दै आएकोमा सडक कालोपत्रे भएपछि धेरै राहत महसुस भएको म्याग्दी उद्योग बाणिज्य संघ बाबियाचौर इकाईका अध्यक्ष राजु पाण्डेले बताउनुभयो ।
                                                                                    दुई नमुना सडक आयोजना सञ्चालन
ग्रामीण सडकलाई व्यवस्थित र स्तरीय बनाउनका लागि मंगला गाउँपालिकाले नमुना सडक आयोजना सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर ३ र ४ बरंजा जाने र वडा नम्बर १ कुहुँ हुँदै टोड्के जाने सडकलाई स्तरोन्नती गर्न गाउँपालिकाले दुई वटा नमुना सडक आयोजना सञ्चालन गरेको हो । पोक–सातविसे–ज्यामिरे–खर्सुपानी –३ नम्बर वडा कार्यालय हुँदै ४ नम्बर वडा कार्यालय बुकेनी जाने सडक स्तरोन्नतीको लागि राष्ट्रिय योजना आयोगको सम्पुरक योजना अन्तर्गत आयोग र पालिकाको बराबर साझेदारीमा कुल ३ करोड ३४ लाख बजेटमा ठेक्का प्रकृया मार्फत रु २ करोड ८० लाखमा देब एण्ड सायर तिलक जेभीले ठेक्का लिएको छ ।

 

 माघ २७ गते सम्झौता भएको यस निर्माण कम्पनीले सडकखण्डको सातविसेखोलादेखि बरंजा गाउँसम्मको विभिन्न भागमा सडक स्तरोन्नती गर्ने गरि काम थालिसकेको छ । गाउँपालिकाले यस अघि नै सडक फराकिलो बनाइसकेको यस सडकखण्डमा रिटेनिङ पर्खाल, ग्याविन जाली लगाउने, नाली निर्माण लगायतका स्तरोन्नतीको काम गर्नेछ । गाउँपालिकाको केन्द्र बावियाचौरदेखि पैयुँपाटा–कुहुँ–अधेरीखोला–पुर्णगाउँ हुँदै टोड्के जोड्ने सडकलाई समेत नमुना सडक आयोजना सञ्चालन गरेको छ । गण्डकी प्रदेश सरकारको सम्पुरक बजेट रु ५० लाख र गाउँपालिकाको ६५ लाख बजेट विनियोजन भएको यस योजनालाई पनि ठेक्का मार्फत कार्यान्वयनमा अघि बढाईएको छ । बोलपत्रमा सबैभन्दा कम ६८ लाख ४८ हजार ४ सय कबोल गरेको सोमरस निर्माण सेवा संग ठेक्का सम्झौताको तयारी भएको गाउँपालिकाले जनाएको छ । यस सडकखण्डमा नाली निर्माण, ग्याविन जाली लगाउने, रिटेनिङ पर्खाल निर्माण, खोला र खोल्सामा कजवे निर्माण गर्ने लगायतका पूर्वाधार बनाउने तयारी छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l