प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने पदमार्ग निर्माण (तस्बिर सहित)

  • १० फाल्गुन २०७७, सोमबार
  • 1580 पटक पढिएको

म्याग्दी १० फागुन । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरी जाने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने पदमार्ग निर्माण गरेको हो । कार्यालयका संरक्षण अधिकृत शम्भुकुमार मिश्रले एक हजार २७२ मिटर पदमार्ग निर्माण भएको जानकारी दिनुभयो ।

उकालोमा १.५ मिटर चौडाइमा ढुङ्गा चिनेर र तेर्सोमा ढुङ्गा बिछ्याइएको । रु ४० लाख बजेट विनियोजन भएपनि निर्माण कार्यको आधारमा उपभोक्ता समितिले रु ३९ लाख २० हजार भुक्तानी लगेका छन् । देउराली भन्ने ठाउँभन्दा केही माथिबाट मालिका धुरीसम्मै पदमार्ग बनाइएको छ । यसैगरी मालिका धुरी परिसरमा ५१० मिटर सुक्खा पर्खाल निर्माण भएको छ । पदमार्गमा प्रयोग गर्ने ढुङ्गा ओसार्न थप ३०० मिटर माटो काटेर पदमार्ग बनाइएको छ । डेढ सय स्थानीय युवाले एक महिनासम्म जङ्गलमा बास बसेर पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष देवबहादुर पुनले बताउनुभयो । ‘नजिकै बस्ती नभएकाले जङ्गलमै बास बसेर पदमार्ग बनायौँ, पदमार्ग निर्माण भउपछि उकालो, भिरालो र साँघुरो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ’’–उहाँले भन्नुभयो ।

पदमार्ग निर्माण भएपछि सुरक्षित र सहजरूपमा यात्रा गर्न सकिने भएको बिमका पलवीर जुग्जालीले बताउनुभयो । ‘साँघुरो बाटोमा चिप्लिएर लड्ने जोखिम थियो’, उहाँले भन्नुभयो ‘अब भने ढुक्क भएर हिँड्न सकिन्छ ।’ सडक र पदमार्ग बनेपछि मालिकाको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाले बिम हुँदै मालिका धुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको छ । रु ८३ लाखको लागतमा बाइन्दफाँटदेखि धौलाधुरी र नागीथलाको बीचसम्म सडक पुर्याइएको बिमका वडाध्यक्ष रेशम जुग्जालीले जानकारी दिनुभयो ।

‘बिमबाट अहिले साढे दुईदेखि तीन घण्टामै मालिका पुग्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘पहिलेको तुलनामा आधाभन्दा धेरै यात्रा अवधि घटेको छ ।’ मालिका गाउँपालिकाको वडा नं ७ र ६ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं ६ को सिमानामा अवस्थित मालिका धुरी समुद्री सतहदेखि तीन हजार ३५० मिटरको उचाइमा अवस्थित छ । रघुगङ्गा गाउँपालिकाले रु १० लाखको लागतमा ठाडाखानीदेखि पहिरेनीसम्म करिब पाँच किलोमिटर सडक र रु चार लाख २० हजारमा बथानडाँडादेखि सरघारीसम्मको उकालो बाटोमा तीन किलोमिटर पैदलमार्ग निर्माण गरेको छ ।

बीस भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ । दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्क्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो । मालिका धुरीमा बिम, दुखु, हिदी, टोड्के, पाखापानी, ठाडखानी लगायतका स्थानबाट जान सकिन्छ ।

‘सन्तान, रोजगारी, शिक्षा, व्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाको जेष्ठी, चण्डी पूर्णिमा र भाइतिहारका दिन बलि चढाउन आउनेको भीड लाग्छ’, उहाँले भन्नुभयो, ‘म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौँ, पोखरालगायत ठाउँबाट भक्तजन आउँछन् ।’ मालिका, कालिका र जालीकादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ । लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ ।

सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत एकै दिन र पैदलयात्रा गर्दा दुई दिनमा पुगिने मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हो । गत वर्ष मालिका गाउँपालिकाबाट विनियोजन भएको रु १५ लाख बजेटबाट सत्तल र मालिका थान परिसरमा पर्खाल बनाएर रेलिङ निर्माण भएको छ । थप पूर्वाधार बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने काम अन्तिम चरणमा पुगेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो । गाउँपालिकाले मालिका क्षेत्रमा खानेपानी व्यवस्थापन र हेलिप्याड निर्माण गर्ने तयारी भएको जनाएको छ ।