ओलीको प्रतिगामी कदमका विरुद्ध बेनीमा हस्ताक्षर संकलन, अनेमसंघद्धारा प्रदर्शन (तस्बिर सहित)

  • ९ फाल्गुन २०७७, आईतवार
  • 1257 पटक पढिएको

म्याग्दी ९ फागुन । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी र असंवैधानिक कदमका विरुद्धमा बेनीमा नेकपाको प्रचण्ड नेपाल पक्षले बेनीमा हस्ताक्षर संकलन गरेका छन् । राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीको आयोजनामा बिरेन्द्रचोकमा आइतवार दिनभर हस्ताक्षर संकलन गरिएको थियो । ओलीको असंवैधानिक कदमका विरुद्धमा भनेर लेखिएको व्यानरमा नेकपाका नेता तथा कार्यकर्ता संगै नेपाली काँग्रेसका जिल्ला स्तरका नेताहरु र सर्वसाधारणले समेत हस्ताक्षरमा सहभागिता जनाएका थिए ।

दिनभर उत्साहजनक रुपमा ओलीको कदम विरुद्धमा हस्ताक्षर संकलन भएको अनेरास्ववियूका जिल्ला सहसंयोजक रेशम कटुवालले बताउनुभयो । हस्ताक्षर संकलन कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, कार्यालय सदस्य बालकृष्ण सुवेदी संगै नेपाली काँग्रेसका जिल्ला उपसभापती माधवप्रसाद रेग्मी लगायतका नेताहरुले समेत सहभागीता जनाउनुभएको थियो ।  अभियान अन्तर्गत संकलन भएको हस्ताक्षर प्रजिअ उमाकान्त अधिकारीमार्फत पठाइने यूवा संघ नेपालका सहसंयेजक सन्दिप खत्रीले जानकारी दिनुभयो ।

यसैबिच आईतवार नै ओलीको कदम विरुद्धमा नेकपाको महिला संगठन अनेमसंघले समेत विरोध प्रदर्शन गरेको छ । ओलीको असंवैधानिक कदम संगै महिलामाथि बढेको महिला हिंसाका घटनामा दोषिहरुलाई कारबाहीको माग गर्दै विरोध ¥याली सहित कोण सभा गरिएको थियो । सभामा नेकपा नेतृ मुना बानियाँ, अनेमसंघका केन्द्रिय सदस्य ज्योति लामिछाने , अम्बीका ढुंगाना लगायतले ओलीले संसदलाई भंग गरि संविधान र देशलाई दुर्घटनातीर लगेको कारण सडक आन्दोलन गर्नुपरेकोमा जोड दिनुभएको थियो ।