मुख्यमन्त्री कप भलिबलमा महिलातर्फ म्याग्दी बिजेता

  • ८ फाल्गुन २०७७, शनिबार
  • 1628 पटक पढिएको

पोखरा ८ फागुन । मुख्यमन्त्री कप महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले उचालेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुण शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको मुख्यमन्त्री कपको उपाधि उचाल्यो।

शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाईनलमा पर्वत जिल्लालाई २५–१४, २५–१५ र २५–१७ को सेटमा पराजित गर्दै दुई लाख नगद राशीको उपाधि आफनो नाममा लेखायो। पर्वतले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो।

कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको पुरुष तर्फका उपाधि तनहुँले उचाल्यो। एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै तनहँुले स्याङजामाथि ३–२ सेटले पराजित गर्दै उपाधि जित्न सफल भएको हो। तनहुँले स्याङजालाई १५–१० को सेटले पन्छाउँदै पहिलो मुख्यमन्त्री कप भलिबलको उपाधि आफनो नाममा लेखाउँदै नगद २ लाख रुपैयाँ प्राप्त गर्दा स्याङजा भने उपविजेता बन्दै नगद १ लाखमा चित्त बुझाउन बाध्य भयो। महिला तर्फ सर्वोत्कृष्ट खेलाडी म्याग्दीकी अरुणा शाही घोषित भईन्। पुरुष तर्फ भने तनहूँका मिलनचन्द ठकुरी घोषित भइ। यसैगरी विधागत महिला तर्फ उत्कृष्ट स्पाईकर तनँहुकी उषा भण्डारी, डिफेण्डरमा कास्कीकी अन्सु थापा, सेटरमा अर्पणा खाँड ठकुरी, ब्लकरमा पर्वतकी हिरा केसी, सर्भरमा म्याग्दीकी कमला पुन र प्रशिक्षकमा म्याग्दीका तेजेन्द्र बानियाँ घोषित भए। विधागत विजेता खेलाडीहरुलाई नगद ५÷५ हजारसहित ट्रफी र पदक प्राप्त गरिएको थियो। विजेता तथा उपविजेता जिल्लाका खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले नगदसहित ट्रफी प्रदान गरेका थिए।