बेनीमा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल

  • ६ फाल्गुन २०७७, बिहीबार
  • 1386 पटक पढिएको

म्याग्दी ६ फागुन । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले निर्वाचन आचारसंहिता सम्बन्धी सरोकारवालाहरु विच अन्तरक्रिया गरेको छ । जिल्ला स्थित राजनीतिक दल,कार्यालय प्रमुख,पत्रकार लगायत सरोकारवालाहरुसँग विहिवार निर्वाचन कार्यालयले अन्तरक्रिया गरेको हो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचन आचारसंहिता २०७७ को मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सरोकारवालाहरुले निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका थिए । आचारसंहितालाई निर्वाचनमा भाग लिने दलहरुले इमान्दारिताका साथ पालना गर्न सरोकारवालाहरुले सुझाएका छन् । निर्वाचन आचारसंहिता पालनाले सवैको हकअधिकारलाई सुरक्षित गर्ने जिल्ला अदालतका न्यायाधिश माधवेन्द्र रेग्मीले बताउनुभयो। सरोकारवाला पक्षहरुले आचारसंहितालाई पूर्णरुपमा पालना गरेर सभ्यताको परिचय दिने अवसर भएको उहाँले बताउनुभयो ।

नेकपा प्रचण्ड माधव नेपाल समुहका अध्यक्ष गोविन्द पौडेलले निर्वाचन आयोगले नेकपाको आधिकारिताका वारेमा टुङ्गो नलगाईसकेको र प्रतिनिधिसभा विघटनको मुद्दाका वारेमा सर्वोच्चमा बहश चलिरहेका समयमा निर्वाचन सम्बन्धि गतिविधिहरु गर्नु सहि नभएको बताउनुभयो ।बैशाखमा घोषित निर्वाचन हुनै सक्दैन अध्यक्ष पौडेलले भन्नुभयो ‘यदी भएमा मैले राजनीतिबाट सन्यास लिन्छु ।’ सरकारले निर्वाचन गराउन मिति घोषणा नगरेको उहाँको भनाई थियो । नेकपा ओलीपक्षीय नेता हरिकृष्ण श्रेष्ठले निर्वाचन अवधि लामो भएकाले छोटाउन सुझाव दिनुभयो ।

सञ्चार प्रविधिको प्रयोग गरेर दलहरुले आफ्ना कुराहरु जनताका माझ लैजान सहज भएकाले निर्वाचनको समय छोटो बनाउनसके खर्च पनि कम हुने उहाँको भनाई थियो ।नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मीले निर्वाचन आयोगले नेकपाको विवाद मिलाउन नसकेको र सरकारले पनि निर्वाचनको वातावरण नबनाएकाले बैशाखमा निर्वाचन हुननसक्ने बताउनुभयो । साथै निर्वाचन आचारसंहिता उल्ङ्घन गर्नेलाई कडा कारवाहीको व्यवस्था गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सचिव क्या. मिनबहादुर कार्की,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसी लगायतले आचारसंहितालाई इमान्दारिताका साथ पालन गर्नुपर्नेमा जोड दिँदै दलहरुले निर्वाचनमा गर्ने खर्च र चन्दा सहयोगलाई पारदर्शी बनाउन सुझाव दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोष तथा लेखा नियन्त्रक प्रमुख युक्त प्रसाद शर्माले गर्नुभएको थियो । गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरी आगमी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेको थियो ।