आगलागीबाट लाखौँको क्षति व्यहोरेका गुल्मीका बाख्रापालक युवालाई म्याग्दीका कृषकहरुको सहयोग (भिडियो)

  • ६ फाल्गुन २०७७, बिहीबार
  • 2087 पटक पढिएको

बेनी , ६ फागुन । अज्ञात व्यक्तिहरुबाट गोठमा आगलागी हुँदा खोरमा रहेका सबै बाख्रा सहित पूर्वाधार जलेर नष्ट हुँदा लाखौँको क्षति व्यहोरेका गुल्मीका एक युवालाई म्याग्दीका बाख्रापालक युवाहरुले सहयोग गरेका छन् । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका बिरेन्द्र शाहको एसथ्रि बाख्रा फर्ममा गत पुस २३ गते राती आगलागी भएको थियो ।

आगलागीबाट गोठमा रहेका २६ वटा बाख्रा सहित खोरको सबै संरचना जलेर नष्ट हुँदा लाखौँको क्षति व्यहोर्नुभएका शाहलाई म्याग्दीका बाख्रापालक कृषकहरुले ४ वटा बाख्रा र रु १५ हजार नगद सहयोग गरेका हुन् । बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीष, वडा नम्बर २ हुलाकेका नरबहादुर थापा, वडा नम्बर ६ चुत्रेनीका कृष्ण मल्ल र वडा नम्बर ४ का महेन्द्र बानियाँले १/१ वटा बाख्रा र बाख्रापालन सुरु गर्नुभएका नारायण जिसीले रु १५ हजार नगद सहयोग गर्नुभएको हो ।

गुल्मीबाट बेनी आउनुभएका शाहलाई किसानहरुले संयुक्त रुपमा बाख्रा र नगद सहयोग हस्तान्तरण गर्नुभएको थियो । नगद सहयोग बराबरको चेक हस्तान्तरण गर्दै निर्माण व्यवसायी समेत रहनुभएका बाख्रापालक जिसीले भर्खरै व्यवसायलाई विस्तार गर्न ठुलो लगानी गरेको अबस्थामा गोठ र बाख्रा सबै जलेर नष्ट भएकाले शाहलाई पुन ः पुरानै लयमा फर्कन राहत संगै हौँसला मिलोस भन्ने उदेश्यले सहयोग गरिएको बताउनुभयो ।

उक्त अवसरमा बागलुङका चिरञ्जीवि केसीले समेत १ वटा बाख्रा शाहलाई उपलब्ध गराउनुभएको छ । आगलागीबाट ठुलो क्षति व्यहोर्नुभएका शाहलाई व्यवसायबाट पलायन हुनबाट जोगाउन आफ्नो क्षमता अनुसारको सहयोग गरेको बाख्रापालक किसान कृष्ण मल्लले बताउनुभयो । फर्ममा लागलागीबाट ठुलो क्षति व्यहार्नुपरेको अबस्थामा आफ्नो व्यवसायलाई पुरानै अबस्थामा पुनः सञ्चालनको लागि म्याग्दीका बाख्रापालक व्यक्तिहरुबाट पाएको सहयोगले आफुलाई हौँसला थपिएको शाहले बताउनुभयो ।

 

‘‘ विदेश छाडेर बाख्रापालनतर्फ लागेको थिएँ, क्षमता विस्तार गरि संख्या बढाउँदै लगेको अबस्थामा सत्रु लागेर आगलागी भयो, म घाईते पनि भएँ, पुनः यो व्यवसायमा फर्कन मैले सम्भव देखेको थिइन्, अहिले विभिन्न ठाउँबाट बाख्रापालक साथिहरुबाटै सहयोगहरु आउन थालेको, अब पुरानै अबस्थामा फर्कने गरि बाख्रापालन गर्छु, सकेँ भने आपत र दुखमा परेका कृषकहरुलाई पनि सहयोग गर्छु’’–शाहले भन्नुभयो । शाहको फर्ममा भौतिक पूर्वाधार र बाख्राहरु समेत गरि ३२ लाख बढी क्षति भएको थियो । अहिले बाख्रापालक कृषक महासंघको अगुवाईमा शाहको फर्म पुननिर्माणको लागि समेत सहयोग संकलन भैरहेको छ ।