मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे सुरु (फाेटाे फिचर)

  • ४ फाल्गुन २०७७, मंगलवार
  • 1709 पटक पढिएको

कमल खत्री
म्याग्दी ४ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे गर्न सुरु भएको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न सुरु भएको हो ।म्याग्दीमा बेनी नगरक्षेत्र बाहिर गाउँपालिका स्तरमा कालोपत्रे गर्न सुरु भएको यो पहिलो योजना हो । गत बर्ष नै सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोना महामारीको कारण प्रभावित भएको योजनालाई प्रदेश सरकारसंगको सहमतीमा म्याद थप गरि सम्पन्न गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगानाले बताए ।

उनका अनुसार, बजार क्षेत्रको करिब ६ सय मिटर सडकलाई ३ दशमलब ७५ मिटर फराकिलोमा कालोपत्रे गर्ने सम्झौता भएको छ । कार्यक्षेत्रमा परिचालित सोमरस निर्माण सेवा कम्पनीका सञ्चालक प्रविन सापकोटाले सडकको अधिकाँश स्थानमा स्टिमेटभन्दा बढी साढे ४ मिटर फराकिलोसम्म सडक कालोपत्रे गरिएको बताए ।
‘‘ कालोपत्रे काम सुरु भएको छ, आबश्यक उपकरण, निर्माण सामाग्री जुटाएर जनशक्ति परिचालन भएको छ, केहि दिनमै सबै कालोपत्रे काम सकिन्छ’’– सापकोटाले भने । गत बर्ष बेस र सबबेस संगै सडकको नाली लगाएको पूर्वाधार बनाउने काम सम्पन्न भएको थियो ।

कालोपत्रे योजनालाई गुणस्तरीय र टिकाउ बनाउनको लागि निर्माण सामाग्रीको प्रयोग र निर्माण कार्यमा निरन्तर अनुगमन र अवलोकन भैरहेको गाउँपालिकाका इन्जीनियर सुजन पाध्यायले बताए । सडक कालोपत्रे संगै बजार क्षेत्र सफा र चिटिक्क देखिएको छ । कालोपत्रे योजनालाई गुणस्तरीय बनाउनका लागि गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र स्थानीय सरोकारवालाहरुले समेत नियमित रुपमा निगरानी गरिरहेका छन् ।

हिउँदमा धुलो र बर्षा याममा हिलोको सास्ती भोग्दै आएकोमा सडक कालोपत्रे भएपछि धेरै राहत महसुस भएको म्याग्दी उद्योग बाणिज्य संघ बाबियाचौर इकाईका अध्यक्ष राजु पाण्डेले बताए । ‘‘ गाउँपालिका स्तरमा जिल्लामै पहिलो पटक सडक कालोपत्रे भएको छ, बिस्तारै ग्रामीण सडकहरु पनि स्तरोन्नती हुँदैछन्, यसको लागि गाउँपालिकाको नेतृत्वले गरेको भुमिकाप्रति आभारी छौँ’’– पाण्डेले भने ।