प्रतिगमनको विरुद्धमा नेपाली काँग्रेस म्याग्दीको बृहत विरोध प्रदर्शन (फोटोफिचर)

  • ३ फाल्गुन २०७७, सोमबार
  • 1515 पटक पढिएको

म्याग्दी ३ फागुन । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले बेनीमा बृहत जनप्रदर्शन गरेको छ । गाउँ गाउँबाट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बेनीमा ल्याएर काँग्रेस म्याग्दीले सोमबार बृहत प्रदर्शन गरेको हो । बेनीको विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजारको न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै विरेन्द्रचोकमा आएर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा काँग्रेस नेता तथा कार्यकर्ताहरुले ओलीको सर्वसत्ताबाद विरुद्धमा चर्को नाराबाजी गरेका थिए । विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य इश्वरी न्यौपानेले ओलीको असंवैधानिक कदमका विरुद्धमा काँग्रेस मात्रै नभएर सिंगो देश नै उभिएको बताउनुभयो ।

‘‘आज गाउँगाउँबाट नागरिकहरु केपी ओलीको असंवैधानिक कदमका विरोधमा आन्दोलन र संघर्षमा उभिएका छन्, करिब दुई तिहाई नजीकको सरकारले जनताको मन जितेर काम गर्नुपर्नेमा जनताको आवाज बुलन्द गर्ने थलो संसद नै विघटन गर्ने काम भएको छ, प्रधानमन्त्रीले संसद र सिंहदरबारबाट भागेर बालुवाटारबाट देश चलाउने दुस्प्रयास गर्नुभएको छ’’–न्यौपानेले भन्नुभयो । नेपाली काँग्रेसको महिला विभाग सभापती समेत रहनुभएकी न्यौपानेले केपी शर्मा ओलीले जनतालाई ठुला र सुन्दर सपना बाँडेर भ्रम सिजर्ना गरेर जनताको अभिमतमाथि नै थोका दिने काम गरेको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापती खमवीर गर्वुजा, पूर्व सभापती डाक्टर भुपेन्द्र बहादुर खड्काले संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै पनि अधिकार नभएकाले ओलीको कदमलाई सच्याउनका लागि अझै कडा आन्दोलन र संघर्ष आबश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका समितिका सभापती लेप्टेन बेलबहादुर पुर्जा, प्रदेश निर्वाचन क्षेत्र ख का सचिब श्रीराम पौडेल, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, नेपाल महिला संघका जिल्ला अध्यक्ष बिमला गौचन र दलित संघका नेता त्रिलोचन विश्वकर्माले केपी ओलीको सनकका भरमा संसद विघटन भएकाले सर्वोच्च अदालतले ओलीको प्रतिगामी कदमलाई सच्याउनेमा विश्वास व्यक्त गर्दै त्यसो हुन नसके मुलुकमा पुनः ससक्त आन्दोलन हुनेमा जोड दिनुभयो । सभाको जिल्ला सहसचिब भरत रकालले सञ्चालन गर्नुभएको थियो । गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित भएको काँग्रेसले विभिन्न चरणमा आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ ।