म्याग्दीमा कोरोना विरुद्धको ‘पहिलो चरणको दोस्रो प्राथमिकता’खोप अभियान सञ्चालन (तस्बिर/भिडियाे)

  • २ फाल्गुन २०७७, आईतवार
  • कमल खत्री
  • 1354 पटक पढिएको

म्याग्दी २ फागुन । म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले गण्डकी प्रदेश सरकारको सहयोगमा अग्रपंतिमा खटिने कर्मचारी, जनप्रतिनिधि, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, पत्रकार र सुरक्षाकर्मी समेतलाई खोप लगाउन ‘पहिलो चरणको दोस्रो प्राथमिकता’ खोप अभियान सञ्चालन गरेको हो । यस अभियानमा करिब १ हजार ९ सय जनालाई खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

अभियानको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पहिलो खोप लगाएर शुभारम्भ गरिएको थियो । सो क्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत छबिलाल सुवेदी लगायतले समेत खोप लगाउनुभएको थियो । जिल्लामा अहिले करिब ९ सय जनालाई खोप लगाउन सक्ने गरि खोपको आपुर्ति भैसकेको र बाँकी लक्षीत समुदायलाई थप खोप माग गरिएको कार्यालय प्रमुख लम्सालले बताउनुभयो । दैनिक ३ सय जना गरि फागुन ४ गतेसम्ममा ९ सय जनालाई खोप लगाउने तयारी गरिएको छ ।

यस अघि जिल्लामा पहिलो चरणको पहिलो प्राथमिकतामा परेका ८९४ जना स्वास्थ्यकर्मी, स्वयमसेवक र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई खोप लगाईसकिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । दोस्रो प्राथमिकता अन्र्तगत जिल्लामा करिब १ हजार ९ सय जनालाई खोप लगाउने योजना रहेको छ । जिल्लामा थप खोप आपूर्ति भएमा बेनी अस्पतालको खोप केन्द्र संगै प्राथमिक स्वास्थ्य केन्द्र दरबाङको खोप केन्द्रबाट समेत खोप लगाईने जनाईएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l