जन्मदिनको अवसरमा शान्तिकोषलाई ५० हजार सहयोग

  • २ फाल्गुन २०७७, आईतवार
  • 1413 पटक पढिएको

म्याग्दी २ फागुन । बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनका अवसरमा म्याग्दीको ओमकुमारी शान्तिकोषलाई रु ५० हजार नगद सहयोग गर्नुभएको छ । कोषको अगुवाईमा गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको अक्षयकोषमा आचार्य र उहाँको श्रीमान भिमप्रसाद आचार्यले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

आइतबार कोषको सचिवालयमा आयोजना गरिएको कार्यक्रममा कोषका अध्यक्ष शाक्यले जलजला गाउँपालिका–७ पर्वत निवासी सहयोगदाता आचार्यलाई संस्थाको पहिलो गोल्ड व्यक्तिगत संरक्षक सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभयो । गरिब विपन्नहरुको उपचारमा सघाउन स्थापना गरिएको अक्षयकोषमा अहिलेसम्म १ करोड बढी रकम जम्मा भैसकेको र सहयोगदाताहरु मार्फत प्रतिबद्धता भए बमोजिमको रकम आउने क्रम जारी रहेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

कोषले रु २ करोड रकमको अक्षयकोष बनाउने घोषणा गरिसकेको छ । गरिब तथा विपन्नहरुको उपचारमा सघाउँदै आएको कोषको रचनात्मक कामबाट प्रभावित बनेर आफुले समेत यस अभियानमा सहभागि हुनपाउँदा आफूलाई खुसि मिलेको सहयोगदाता आचार्यले बताउनुभयो ।

कार्यक्रममा कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी,पत्रकार घनश्याम खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो । कोषका अध्यक्ष शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष खम थापाको स्वागत र सहसचिव सन्दीप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।