उत्पादन र उद्योगबाट जिल्लाको आर्थिक विकास सम्भव : अध्यक्ष कटुवाल (अन्तर्वार्ता)

  • ३० माघ २०७७, शुक्रबार
  • 2130 पटक पढिएको

म्याग्दी उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बेलबहादुर कटुवालसंग समृद्ध साप्ताहिक र म्याग्दीअनलाईन डटकमका सम्पादक कमल खत्रीले गर्नुभएको कुराकानी ।
१) यहाँलाई स्वागत तथा म्याग्दी उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।
धन्यबाद
२) म्याग्दी उद्योग बाणिज्य संघको नेतृत्व सम्हाल्नुभएको छ । जिल्लामा उद्योग र व्यापार क्षेत्रको विकासमा कस्तो योजना बनाउनुभएको छ ?


सर्वप्रथम त हालै सम्पन्न म्याग्दी उद्योग बाणिज्य संघको २७ औँ बार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनबाट मेरो नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । यसमा सहयोग गर्नुहुने म्याग्दीस्थित सम्पूर्ण उद्योगी व्यवसायी, संघका पूर्व अध्यक्ष, कार्यसमितिका सम्पूर्ण सहकर्मी साथीहरु, उद्योग व्यापारसंग सम्वद्ध संघ संस्थाहरु र सञ्चारजगतप्रति हार्दिक आभार प्रकट गर्दछु । बिशेष गरि निजी क्षेत्र आफैमा उद्योगी व्यवसायीको हक हित र अधिकारको संरक्षणको लागि स्थापित संस्था हो । जिल्लामा रहेका उद्योगी र व्यवसायीहरुको पक्षमा संघ, प्रदेश र स्थानीय सरकार र अन्य संघ संस्थासंग समन्वय गरि समस्या समाधानबारे समन्वयात्मक भुमिका निर्वाह गर्ने प्रयास नै मेरो पहिलो योजना रहेको छ ।
३) संघमा यहाँको प्रवेशको समय कस्तो थियो र अहिले नेतृत्वमा पुग्दै गर्दा यहाँलाई कस्तो अनुभूति भएको छ ?
२०२७ सालमा स्थापना भएको यस सघं २०३३ मा महासघमा आबद्ध भएको थियो भने २०४३ सालमा जिल्ला प्रशासन कार्यालयमा स्वायत्त संस्थाको रुपमा दर्ता गरिएको थियो । संघमा म २०५४ सालमा साधारण सदस्यको रुपमा प्रवेश गरेको हुँ । जिल्लामा व्यापार व्यवसायमा लाग्नुअघि म सुरुमा शिक्षण पेसामा थिएँ । पछि करिब २ बर्ष म रोजगारकै सिलसिलामा प्रवासमा रहेँ । अन्तत् आफ्नै ठाउँमा केहि गर्नुपर्छ भन्ने अठोट लिएर २०५१ देखि आफ्नै ठाउँमा व्यापार व्यवसायमा लागेकोे हुँ । तत्कालिन समयमा जिल्लामा उद्योग र व्यापार व्यवसायको अबस्था एकदमै कमजोर र भर्खर पाईला चाल्ने अबस्थामा थियो । जिल्ला भर्खरै मात्र सडक सञ्जालमा जोडिएको थियो । त्यस समयमा व्यापार व्यवसायको क्षेत्र निकै कठिन र चुनौतिपूर्ण नै थियो । सामान ढुवानी, आपूर्ति र वितरणका तीनै कुरामा यातायात र सञ्चारको पहुँच नहुँदा यो पेसामा अगाडी बढ्न थुप्रै समस्याहरुको सामना गर्नुपथ्र्यो । आफ्नो व्यापार व्यवसाय संगै संघमा पनि आबद्ध भएर सामूहिक रुपमा यस क्षेत्रको हकहित संगै सामाजिक कार्यमा पनि जोडिनुपर्छ भन्ने उदेश्यले म निरन्तर रुपमा यस संघमा क्रियाशिल छु । कार्यसमिति सदस्य, महासचिब, उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष भएर यस अघि आफ्नो जिम्मेवारी निर्वाह गरीसकेको छु । जिल्लाको व्यापार व्यवसायको क्षेत्रलाई नजिकबाट नियालेर बुझ्ने मौका मिलेको छ । अब म नेतृत्वमा आइसकेको अबस्थामा जिल्लामा स्थापित सानादेखि मझौला उद्योग तथा व्यवसायीहरुको समस्याहरुलाई समाधानमा रचनात्मक काम गर्न सकिन्छ भनेर लाग्ने प्रण गरेको छु ।
४) यस संघको कार्यसमितिमा प्रवेश गर्नु सामान्य व्यवसायीहरुको पहुँचमा छैन भनिन्छ । संघभित्र एककिसिमको सिन्डीकेट नै छ । खर्च गर्न सक्ने व्यक्तिहरुकै मात्र बोलवाला रहन्छ भन्ने गुनासा आइरहन्छन् ? के भन्नुहुन्छ ।


यो संस्थाको सञ्जाल ठुलो छ । संस्थामा स्थायी १ हजार ९ सय ४६ जना, अस्थायी ४ सय १५ जना, आजिवन ६२ जना र मानार्थ सदस्य १ जना आबद्ध हुनुुन्छ । बिगतमा सदरमुकाम बेनीमा मात्रै केन्द्रीत भएर सदस्यहरु आबद्ध हुने यस संघमा संघियता कार्यान्वयनमा आएपछि हामीले पनि सबै स्थानीय तहमा इकाइ गठन गरिसकेका छौँ । यसले संघको सञ्जाल बृहत भएको छ । विधानत् कार्यसमितिमा ३६ जना मात्रै रहने प्रावधान छ । जस्मा ७ जना पदेन सदस्य, चार जना मनोनित र एक जना निवर्तमान अध्यक्ष रहनुहुन्छ । अध्यक्ष १ सहित २४ सदस्यीय मात्रै निर्वाचित हुने हुँदा सरल तरिकाले कार्यसमितिमा पुग्न कठिन रहेको कुरा स्वभाविक नै हो । तर हामीले कार्यसमितिमा सबै स्थानीय तह, बस्तुगत र महिलाहरुको क्षेत्रबाट समेत समितिमा प्रतिनिधित्व गराउँदै आएका छौँ । यहाँ कुनै त्यस्तो सिन्डीकेट नरहेको अवगत गराउँछु । यस संघमा जानु भनेकै अन्य व्यवसायीहरु र समाजका लागि केहि गर्न जाने हो । काम गरे बापत कुनै निश्चित सुविधा पाउने भन्दा पनि समाजका लागि केहि योगदान गरि सन्तुष्ट लिन जाने भएकाले आफ्नो व्यक्तिगत खर्च, समय स्वभाविक रुपले योगदान गर्नुपर्छ । खर्च गर्न सक्ने र नसक्नेको आधारमा कसैलाई पनि संस्थामा आएर काम गर्ने र नेतृत्व गर्न सबालमा कुनै भेदभाव छैन् ।
४) संघको नेतृत्वमा आइसकेपछि के कस्ता काम गर्ने योजना बनाउनुभएको छ ?
पहिलो जिम्मेवारी भनेको जिल्लाका उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्ने र उद्योग व्यवसाय क्षेत्रलाई स्थापित गर्न लाग्नु नै हो । म्याग्दी पर्यटन उद्योगको क्षेत्रमा ठुलो सम्भावना रहेको छ । यस क्षेत्रलाई पहिलो प्राथमिकता राखेर मेरो नेतृत्वको टिमले कार्ययोजना निर्माण गरि अगाडी बढ्छौँ । मेरो कार्यकालमा यस संघको संस्थागत विकास र संस्थागत क्रियाकलापलाई निरन्तरता दिदै पर्यटन र जलविद्युतको प्रवद्र्धनमा पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छु । साथै म्याग्दी जैविक विविधतामा पनि उत्तीकै महत्वपूर्ण जिल्ला भएको हुँदा कृषि, पशुपालन र जडिबुटीको व्यवसायीक उत्पादनमा जोड रहनेछ । यसका लागि सबै स्थानीय तह, संघ संस्था, नेपाल सरकारका सबै अंगहरुसंग समन्वयतात्मक भूमिका निर्वाह गरि सरकारको तिनखम्बे अर्थनीति अनूरुप कार्य गर्न संघको भूमिकालाई बढाउनेछाँै ।
५) कोरोनाका कारण साना व्यवसायीहरु विस्थापित नै हुने अबस्थामा पुगेका छन् । संघले साना व्यवसायिहरुका समस्या समाधानतर्फ कस्तो भूमिका खेल्न सक्छ ?
विश्वव्यापी रुपमा कोरोनाले अर्थतन्त्रमा ठुलो प्रभाब पारेको छ । यसबाट हाम्रो जस्तो साना र मझौता उद्योगी व्यवसायी भएको जिल्लामा पनि यसको प्रभाब र असरबाट अछुतो रहन सक्ने कुरै भएन् । यहाँका व्यवसायीका समस्याबारे हामी जानकार नै छौँ । हामीले नेपाल सरकारलाई व्यवसायिहरुको कर छुट गर्न र स्थानीय सरकारसंंग कर छुट मिनाहको लागि पहल गरिरहेका छौँ । फलस्वरुप केहि हदसम्म त्यसको सकरात्मक नतिजाहरु आउन थालेका छन् । यो नै पूर्ण होइन । त्यसैले सबै व्यवसायीका आत्मकथालाई सम्बोधन हुने गरि संघले सम्बन्धित बैँक, विक्तिय संस्था, सरकारसंग समन्वयात्मक भूमिका खेली व्यवसायमा पुनर्जागरण हुने गरि कार्यक्रम ल्याउन पहल गर्नेछाँै ।
६) यस संघभित्र उद्योगीहरु भन्दा पनि व्यवसाय गर्नेहरुको संख्या अधिक छ । जिल्लामा उत्पादन र उद्योगको विकासतर्फ केहि योजना छ कि ?
विशेष गरि हाम्रो जस्तो हिमाली र पहाडी जिल्लाहरुमा उद्योगको भन्दा बाणिज्य क्षेत्रको उपस्थिति बढी हुनु स्वभाविक छ । म्याग्दीमा उद्योगको रुपमा स्थापना हुने भनेको पर्यटन र जलविद्युत नै हो । यस क्षेत्रमा जिल्लाकै उद्योगी व्यवसायीहरु मार्फत पनि केहि भएकै छन् । यसलाई थप प्रवद्र्धन गर्ने, लगानीको वातावरण तयार गर्न सहजीकरण गर्ने, लगानीकर्ताहरुलाई प्रोत्साहन र उत्साहित बनाउनेतर्फ हाम्रो ध्यान जानेछ ।
७) छिमेकी जिल्लामा उद्योगी व्यवसायीहरुहरुको नेतृत्वमा पर्यटन क्षेत्रमा ठुलो फड्को मारीसकेको छ । म्याग्दीमा भने संघले मेला महोत्सव लगाउने काममा मात्रै सिमित देखिन्छ । यसबारे के छ यहाँको धारणा ?
सुरुवातमा म्याग्दीको पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनको नेतृत्व नै यस संघले गर्दै आएको हो । जिल्लाको कला संसकृतिको विकास र संरक्षण संगै पर्यटनको प्रचार प्रसारमा सघाउने मेला महोत्सवहरुलाई हामीले निरन्तर रुपमा सञ्चालन गर्दै आएका छौँ । पछिल्लो समय हामीले यो संगसंगै पर्यटन पूर्वाधार निर्माण र पर्यटन विकासका अवधारणाहरुलाई पनि अघि सारेका छौँ । गत बर्ष मात्रै बेनी नगरपालिका र मोनासंग साझेदारी गरि मोना बेनी लभ्लीहिल पदमार्ग निर्माण ग¥र्यौ । बेनी स्थित बहुउदेश्यीय मैदान निर्माण गरि ततकालिन अर्थुङ्गे गाविसलाई हस्तान्तरण गरिएको थियो । एक गाउँ एक उत्पादन अन्र्तगत टिमुर खेतीलाई जिल्लामा स्थापित गर्न समेत संघले ठुलो भूमिका खेलेको सर्ववितिदै छ । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि २०७५ सालमा म्याग्दी भ्रमण बर्ष घोषणा गर्ने, कालिपुलमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने , बसपार्कमा संघको स्वर्णबर्षको अवसरमा धार्मिक पर्यटनलाई उजागर गर्दै स्वर्ण स्तम्भ स्थापना गर्ने लगायतका कार्यहरु गरिसकेका छौँ । आगामी दिनमा यस्ता कार्यहरुलाई निरन्तरता दिँदै कृषि उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्नका लागि स्थानीय सरकारसंग समन्वय गरि जिल्लास्तरमा एउटा आधुनिक कोल्ड स्टोर निर्माण गर्ने योजना रहेको छ ।
८) जिल्लामा लामो समयदेखि औद्योगीक क्षेत्रको बारेमा संघले आवाज उठाउँदै आएको छ तर सार्थक पहल र प्रयास भएको देखिदैन । अहिले स्थानीय तहहरु पनि कार्यान्वयमा आइसकेका छन् । यस बिषयमा के रहन्छ यहाँको पहल ?
यो मुद्धा म्याग्दीका उद्योगीहरुको लागि अत्यन्तै महत्वपूर्ण र अनिवार्य हो । संघले विगतदेखि नै पहलहरु प्नि गर्दै आएको छ । मेरो नेतृत्वको कार्यकालमा सबै स्थानीय तहहरुसंग समन्वय गरि औद्योगीक क्षेत्र स्थापना गर्नु मुख्य एजेण्डाको रुमपा रहनेछ । जस्ले गर्दा जिल्लामा उद्योग क्षेत्रको विकासमा टेवा पुग्ने मैले विश्वास लिएको छु ।
९) आफ्नो महत्वपूर्ण समय र सम्बादको लागि धन्यबाद
मलाई पनि यहाँको लोकप्रिय मिडिया मार्फत आफ्ना कुराहरु राख्ने अवसर दिनुभएकोमा यहाँ र यहाँको मिडियालाई धन्यबाद र आभार प्रकट गर्दछु ।
समृद्ध साप्ताहिकमा प्रकाशित