मिडिया सोसाईटीद्धारा पत्रकारहरुको स्वास्थ्य विमा, पत्रकार बानियाँ पुरस्कृत (तस्बिर सहित)

  • २९ माघ २०७७, बिहीबार
  • 1266 पटक पढिएको

म्याग्दी २९ माघ । म्याग्दी मिडिया सोसाईटीले जिल्लाका करिब एक दर्जन पत्रकारहरुको स्वास्थ्य विमा गरिदिएको छ । सोसाईटीको विहिवार सम्पन्न चौथो साधारण सभाको अवसरमा संस्थामा आबद्ध ११ जना पत्रकारहरुको स्वास्थ्य विमाका लागि जनही नगद रु ३ हजार ५ सय शुल्क उपलब्ध गराईएको हो । पत्रकार र उनीहरुका घरपरिवारले समेत स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने गरि गत बर्षदेखि सुरु गरिएको पत्रकार स्वास्थ्य बिमालाई यस बर्ष समेत निरन्तरता दिईएको सोसाईटीका अध्यक्ष कमल खत्रीले जानकारी दिनुभयो ।

५ जना सम्मको परिवारलाई रु ३ हजार ५ सय शुल्क तिरेर स्वास्थ्य विमा गरेपछि प्रतिपरिवारले बार्षिक रु १ लाख बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्ने प्रावधान रहेको छ ।साधारण सभाको अवसरमा सोसाईटीले क्रियाशिल पत्रकार प्रताप बानियाँलाई ‘‘ मिडिया सोसाइटी अवार्ड–२०७७ बाट सम्मान गरेको छ । संस्थाका अध्यक्ष कमल खत्री र जेष्ठ सदस्य तथा नागरिक समाज म्याग्दीका संयोजक सुर्दशनकुमार श्रेष्ठले बानियालाई  नगद रु. ७ हजार १५० सहित सम्मानपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

बेनीबाट प्रकाशन हुने रुप्से दैनिक पत्रिकाका सह–सम्पादक बानिया, नेपाल टेलिभिजन, नेपाल समाचारपत्र दैनिक, उज्यालो ९० नेटवर्क, धौलागिरी टेलिभिजन लगायतका सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ । वि.स. २०७४ मा म्याग्दीमा सञ्चालित सञ्चार माध्यममा सञ्चालक र व्यवस्थापकिय जिम्मेवारीमा रहेका पत्रकारहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिब अमित विश्वकर्माले जानकारी दिनुभयो । सोसाईटीले पत्रकार र पत्रकारका घरपरिवारलाई आपत विपत् पर्दा सघाउनका लागि रु २ लाख ५ हजार राशिको अक्षयकोष समेत स्थापना गरेको छ ।

साधारणसभामा नागरिक समाजका संयोजक समेत रहनुभएका सोसाईटीका जेष्ठ सदस्य श्रेष्ठले संकटमा परेका जिल्लाका सञ्चार माध्यमको संरक्षण र प्रर्वद्धन तथा पत्रकारिताको बिकासमा सोसाइटीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यम मार्फत परिचालन, सार्वजनिक सुनुवाई, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ ।

कोरोना रोकथामका लागि गरिएको लकडाउनका समयमा पत्रकारहरुको ब्यवहारिक समस्या समाधानमा सहजिकरणका साथै पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको थियो । संस्थाका अध्यक्ष कमल खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिब विश्वकर्माको सञ्चालनमा सम्पन्न साधारणसभाले सचिव बिश्वकर्माको प्रगति र कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यको आर्थिक प्रतिवेदनका साथै आगामी कार्ययोजना पारित गरेको छ ।