संसद विघटनपछि पहिलो पटक एउटै मन्चमा उभिएका म्याग्दीका नेताहरुले गरे घोचपेच (भिडियो)

  • २५ माघ २०७७, आईतवार
  • 1564 पटक पढिएको

म्याग्दी २५ माघ । संसद विघटन भएपछि पहिलो पटक म्याग्दीका प्रमुख राजनीतिक दलका नेता देखि सांसद, निवर्तमान सांसद र संविधान सभा सदस्यहरु एउटै मञ्चमा देखिए । म्याग्दी उद्योग बाणिज्य संघको बार्षिक साधारण सभामा विशेष अतिथिको रुपमा उपस्थित भएका नेताहरुले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको पक्ष र विपक्षमा आलोचना र घोचपेच समेत गरे ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सचिब क्याप्टेन मिनबहादुर कार्कीले संसद विघटन गर्ने प्रधानमन्त्रीका असंवैधानिक कदमको विषय उठान गरेका थिए ।
त्यसपछि बोलेका नेकपाका प्रचण्ड नेपाल पक्षका नेता बालकृष्ण सुवेदीले संसद विघटन गर्ने कदमको चर्को विरोध गरे । उनी लगत्तै बोलेका नेकपाका ओलि पक्षीय नेता हरिकृष्ण श्रेष्ठ भने यस बिषयमा प्रवेश नै गरेनन् ।

त्यसपछि प्रदेश सभा सदस्य विनोद केसीले जनताको आवाज बोल्ने र नीति निर्माण गर्ने थलो संसद भंग गर्नु दुर्भाग्यपूर्ण रहेको बताए । संविधान सभा सदस्य रेशम बानियाँले अहिलेको संकटलाई संवैधानिक व्यवस्था अनुरुप निरुपण गर्नुपर्ने र त्यसो हुन नसके मुलुकमा अर्को निरंकुशताको खतरा रहेको बताए । कार्यक्रममा संविधान सभा सदस्य समेत रहेका ओली पक्षका नेता नवराज शर्मा र विघटीत संसदका सदस्य भुपेन्द्रबहादुर थापाले प्रधानमन्त्रीलाई काम नै गर्न नदिईएको कारण संसद विघटन भएको भन्दै ओलीको कदमको बचाउ गरेका थिए ।