नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा मालिकामा अगुवा कार्यकर्ता प्रशिक्षण
- २३ माघ २०७७, शुक्रबार
- 1751 पटक पढिएको
म्याग्दी २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले जिल्लाको मालिका गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराएपछि ओलीको प्रतिगामी कदमका विरुद्धमा नेकपाको प्रचण्ड नेपाल पक्षले आन्दोलन र कार्यकर्ता भेला तथा प्रशिक्षणलाई तिब्रता दिएको छ ।
मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने व्यवस्था नै नभएकाले ओलीले संविधान माथि नै कुल्चने काम गरेको बताउनुभयो । उहाँले पार्टीको एकतालाई भंग गर्ने, दलाल र माफियाहरुको इसारामा राज्यशक्तिको दुरुपयोग गर्ने र कोरोनाबाट आर्थिक घाटा व्यहोरेको मुलुकमा चरम संकट निम्त्याउने कार्यमा ओली उद्धत गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर विश्वकर्माले ओलीले पार्टीको अनुशासन र मर्यादा नमास्ने संगै लामो बलिदानी र संघर्षबाट प्राप्त उपलब्धीहरुलाई उल्टाउने चलखेलमा लागेकाले ओलीको कदमलाई सच्याउन सशक्त आन्दोलन र दबाब आबश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा नेकपा म्याग्दीका कार्यालय सदस्यद्धय बालकृष्ण सुवेदी र सुविन जुग्जालीले ओलीले पार्टी, देश र जनतालाई धोका दिएपनि नेपाल कम्युनिष्ट पार्टीको बहुमत रहेको प्रचण्ड नेपाल पक्षले ओलीको कदमको सशक्त प्रतिरोध गरेको बताउँदै असंवैधानिक तवरले विघटन गराएको संसद सर्वोच्चबाट पुर्नस्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँहरुले नेकपाको मुल धार नै प्रचण्ड नेपाल पक्षसंग रहेकाले पार्टीको आधिकारिकता र चुनाब चिन्ह समेत आफुहरुले नै पाउने दावि समेत गर्नुभएको थियो । नेकपा मालिका गाउँपालिका कमिटीका सचिब गोविन सिउँथानीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य कृष्णकुमार विश्वकर्माले ओलीको प्रतिगमनका विरुद्धको अभियानमा युवा, महिला तथा बौद्दिक क्षेत्रबाट उल्लेख्य रुपमा सहभागीता रहेकोमा धन्यबाद ज्ञापन गर्नुभएको थियो भने युवासंघ गाउँपालिका कमिटीका अध्यक्ष अनुप गौचनको स्वागत र रामु रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।